प्रधानमन्त्री शाहको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

प्रधानमन्त्री शाहको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

नयाँ दिल्ली। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा लामो समयदेखि रोकिएको गोर्खा भर्तीको विषयमा दुई देशका शीर्ष नेताबीच कुनै छलफल नभएको भारत सरकारले जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह स्वदेश फर्किएपछि भारतीय विदेश मन्त्रालयले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा विदेश सचिव विक्रम मिश्रीले यस्तो जानकारी दिएका हुन्।

पत्रकार सम्मेलनका क्रममा भारतीय सञ्चारमाध्यमका प्रतिनिधिले अग्निपथ योजना लागू भएपछि रोकिएको गोर्खा सैनिक भर्ती प्रक्रियाबारे प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच कुराकानी भएको थियो कि थिएन भन्ने प्रश्न गरेका थिए।

जवाफमा विदेश सचिव मिश्रीले प्रधानमन्त्रीस्तरको भेटवार्तामा गोर्खा भर्तीको विषय नउठेको स्पष्ट पारे।

उनले भने, ‘तपाईंको गोर्खा भर्तीसम्बन्धी प्रश्नको छोटो उत्तर के हो भने आजको छलफलमा यो विषय उठेको छैन।’

मिश्रीले दुई देशका प्रधानमन्त्रीबीच भएको वार्तामा गोर्खा भर्तीको विषयले प्रवेश नपाएको पुनः दोहोर्‍याउँदै यसबारे थप नीतिगत जानकारी लिन भारतको रक्षा मन्त्रालयसँग सम्पर्क गर्न सुझाव दिए।

भारतले अग्निपथ योजना कार्यान्वयनमा ल्याएपछि नेपाली नागरिकलाई भारतीय सेनामा गोर्खा सैनिकका रूपमा भर्ती गर्ने प्रक्रिया रोकिएको छ। त्यसयता यो विषय नेपाल–भारत सम्बन्धमा चासो र छलफलको विषय रहँदै आएको छ।