काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजबहादुर गिरीले पुराना राजनीतिक दलहरू नसुध्रिएका कारण जनताले लोकतन्त्र र विधिको शासन जोगाउन आफ्नो पार्टीलाई दुई तिहाइ मत दिएर सत्तामा पुर्याएको दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता गिरीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपातर्फ इंगित गर्दै विगतमा मिलेर खाएकाहरुले अहिले त्यसरी खान नपाएका कारण ती दलहरूले रास्वपा र वर्तमान सरकारको आलोचना गरिरहेको आरोप लगाए ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे बोल्दै गिरीले भ्रमण पूर्ण रूपमा सफल भएको बताए । उनले सञ्चारका विभिन्न माध्यममार्फत सबैको सुझाव लिएर प्रधानमन्त्री भारत भ्रमणमा गएको दाबी पारे ।
रास्वपा र सरकारमाथि लाग्ने गरेका आरोपहरूको खण्डन गर्दै नेता गिरीले भने, ‘रास्वपा र वर्तमान सरकारले कुनै स्टन्टबाजी गरेको छैन, बरु देश र जनताको हितमा केन्द्रित भएर काम गरिरहेको छ ।’
उनले सरकारले जनअपेक्षाअनुसार नै काम अगाडि बढाइरहेको जिकिरसमेत गरेका छन् ।