काठमाडाैं। नेकपा एमालेभित्र पछिल्लो समय नेतृत्व, पुस्तान्तरण र संगठनात्मक पुनर्गठनको विषयले राजनीतिक वृत्त तातेको छ। हालै काठमाडौँमा सम्पन्न पार्टीको राष्ट्रिय भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रियसभा निर्वाचनको तयारी तथा आन्तरिक शुद्धीकरणका लागि २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित गरे पनि नेतृत्वको भविष्य र पुस्ता हस्तान्तरणको बहस भने झन् पेचिलो बन्दै गएको छ। मंसिर २ र ३ गते आयोजित दुईदिने राष्ट्रिय भेलामा सहभागी सयौँ नेता–कार्यकर्ताले पार्टीभित्र देखिएको विलासी जीवनशैली, जनताबाट टाढिने प्रवृत्ति र गुटबन्दी अन्त्य गर्ने अङ्गीकार गरेका छन्। भेलामा अध्यक्ष केपी शर्मा ओलीका कार्यभार, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा बादल र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलको प्रशिक्षण र कार्ययोजना प्रस्तुत भए पनि शीर्ष तहमा देखिएको शक्ति संघर्ष र अन्तरविरोध छताछुल्ल भएको छ।
चुनावी नतिजाको समीक्षा र पार्टी पुनर्जागरणको कसरतबीच एमाले वृत्तमा नेतृत्वको प्रभावकारितालाई लिएर तीव्र टिप्पणी भइरहेका छन्। पार्टीभित्रै पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग उठिरहँदा कतिपय चिन्तक, प्राध्यापक र विश्लेषकहरूले वर्तमान नेतृत्व मात्र नभई त्यसपछिको पुस्ताका रूपमा हेरिएका महासचिव शंकर पोखरेलको कार्यशैली र राजनीतिक प्रभावकारितामाथि समेत प्रश्न उठाउन थालेका छन्। विशेषगरी राष्ट्रिय भेलाका क्रममा अध्यक्ष ओली र महासचिव पोखरेलबीच देखिएको चिसोपन र सार्वजनिक रूपमै पोखिएको असन्तुष्टिले पार्टीभित्रको आन्तरिक समीकरणमा नयाँ तरंग ल्याएको छ। बदलिँदो जनआकांक्षा र जेन–जी आन्दोलनको मर्मलाई सम्बोधन गर्न शीर्ष तहको नेतृत्व मात्र होइन, त्यसपछिको पुस्ताको नेतृत्वमाथि पनि पुनर्विचार गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ।
पार्टीभित्र पुरानो कार्यशैली र पुस्तागत जडता तोड्न ४० वर्ष हाराहारी वा सोभन्दा कम उमेर समूहको युवा पुस्ताले नेतृत्व लिनुपर्ने तर्कसमेत अघि सारिन थालेको छ। यसै सन्दर्भमा संसदीय राजनीति र संगठनमा सक्रिय युवा पुस्ताका प्रतिनिधि पात्रहरू जस्तै महेशकुमार बर्तौला लगायतका युवा नेताहरूलाई अघि सार्नुपर्ने चर्चा पनि राजनीतिक वृत्तमा जोडतोडले उठ्न थालेको छ। युवा पुस्ताको सक्रिय प्रतिनिधित्वले मात्र पार्टीको नीति, संवाद र जनसम्पर्कलाई नयाँ गति दिन सक्ने धारणा राख्नेहरूको संख्या बढ्दो छ।
अर्कोतर्फ, पूर्वराष्ट्रपतिको सेवा-सुविधा त्यागkर सक्रिय राजनीतिमा पुनरागमन गरेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीको उपस्थिति र सम्भावित भूमिकाले एमालेको आगामी नेतृत्वको दौडलाई थप रोचक र पेचिलो बनाइदिएको छ। अध्यक्ष केपी ओलीको विकल्पका रूपमा हेरिएकी भण्डारीलाई आगामी निर्वाचनमा पार्टीको मुख्य कमान्डर बनाउनुपर्ने आवाजसमेत कार्यकर्ता तहबाट उठ्न थालेको छ। यद्यपि, संस्थापन पक्षले भने ११ औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व, विधानको व्यवस्था र राष्ट्रिय भेलाबाट पारित कार्ययोजनामार्फत नै पार्टीलाई एकताबद्ध र चलायमान बनाउने रणनीति लिएको छ।
स्थानीय तह र प्रदेशसभाको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै यदि पार्टीले समयमै उचित निष्कर्ष निकाल्न नसके र युवा तथा वैकल्पिक नेतृत्वलाई जिम्मेवारी नदिने हो भने पार्टीको साङ्गठनिक सुदृढतामा थप धक्का पुग्न सक्ने चेतावनी थिङ्कट्याङ्क तथा राजनीतिक विश्लेषकहरूले दिइरहेका छन्। समग्रमा, एमालेभित्रको यो अन्तर्संघर्ष केवल पद र कुर्सीको लडाइँ मात्र नभई आगामी दिनमा पार्टीको वैचारिक दिशा, राजनीतिक संस्कृति र नेतृत्वको उत्तराधिकार तय गर्ने मुख्य कडी बन्ने निश्चित देखिएको छ।