यमनको राष्ट्रपति भवनमा हुथीको भीषण आक्रमण: ५ जनाको मृत्यु, साउदी हवाई क्षेत्र र तेल पूर्वाधार उच्च जोखिममा

यमनको राष्ट्रपति भवनमा हुथीको भीषण आक्रमण: ५ जनाको मृत्यु, साउदी हवाई क्षेत्र र तेल पूर्वाधार उच्च जोखिममा

काठमाडाैं। यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको मुख्यालय रहेको अदनस्थित अल-माशिक (Al-Maashiq) राष्ट्रपति भवनमा इरान समर्थित हुथी विद्रोहीहरूले बिहीबार घातक आक्रमण गरेका छन्। आक्रमणमा परी प्रधानमन्त्री शाया अल-जिन्दानी (Shaya Al-Zindani) का दुई जना सुरक्षाकर्मीसहित कम्तीमा ५ जनाको मृत्यु भएको छ।

यमनको स्वास्थ्य मन्त्रालयका अनुसार क्षेप्यास्त्र तथा ड्रोन प्रयोग गरी गरिएको उक्त आक्रमणमा परी अन्य १६ जना घाइते भएका छन्। विद्रोही हुथी समूहले भने परिसरभित्र रहेको साउदी सैन्य परिचालन केन्द्रलाई लक्षित गरी हमला गरिएको दाबी गरेको छ।

यमनका स्वास्थ्य मन्त्री कासिम मोहम्मद बुहैबेहका अनुसार ज्यान गुमाउने र घाइते हुनेहरूमा सरकारी परिसरमा कार्यरत सुरक्षाकर्मी र निजामती कर्मचारीहरू रहेका छन्। सूचना मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आक्रमणपछि प्रधानमन्त्री र मन्त्रिपरिषद्का अन्य सदस्यहरू पूर्ण रूपमा सुरक्षित रहेको जनाइएको छ।

यो हमला यमनी सरकारले यसै महिना विद्रोहीविरुद्ध सुरु गरेको "यमेन्स डन" (Yemen’s Dawn) अभियानपछिको सबैभन्दा उच्च तहको आक्रमण हो। सन् २०१४ मा हुथीहरूले आधिकारिक राजधानी साना (Sanaa) कब्जा गरेपछि सरकारले अदनलाई अस्थायी राजधानी बनाएको थियो। त्यसयता साउदी अरबले यमनी सरकारलाई समर्थन गर्दै आइरहेको छ।

हुथी समूहले भने साउदी सैन्य उपस्थितिलाई लक्षित गर्ने आफ्नो घोषित नीतिकै निरन्तरता स्वरूप यो आक्रमण गरिएको बताएको छ। उनीहरूले जारी गरेको विज्ञप्तिमा साउदी सेनाको सैन्य जमघट र उपस्थिति रहेका जुनसुकै स्थान आफ्ना लागि वैधानिक निशाना हुने उल्लेख छ।

सिएनएनका अन्तर्राष्ट्रिय डिप्लोम्याटिक एडिटर निक रोबर्टसनका अनुसार राष्ट्रपति भवन परिसर अदनको चट्टानी पहाडमा अवस्थित छ र यो अत्यन्तै कडा सुरक्षा घेराभित्र रहेको छ। यमनी मन्त्रिपरिषद्ले क्षेप्यास्त्र र ड्रोन दुवै प्रयोग गरी गरिएको यो आक्रमणले सरकारको कामकाज वा हुथीविरुद्धको अभियानमा कुनै बाधा नपुग्ने स्पष्ट पारेको छ।

साउदी हवाई क्षेत्रमा त्रास र अमेरिकी पूर्वराष्ट्रपतिको टिप्पणी

आक्रमण हुनुभन्दा एक घण्टाअघि मात्र हुथीहरूले साउदी अरबको हवाई क्षेत्र र विमानस्थलहरू असुरक्षित रहेको र साउदी आक्रमणको जवाफ दिन आफूहरू सक्षम रहेको चेतावनी दिएका थिए। हुथीका अनुसार साउदी अरबले पछिल्लो २४ घण्टामा यमनभर ६५ वटा हवाई तथा क्षेप्यास्त्र आक्रमण गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सेप्टेम्बर ३ देखि अक्टोबर १५ सम्म भएका साउदी आक्रमणमा १२० जनाको मृत्यु र ३०७ जना घाइते भइसकेका छन्।

यसैबीच, यमनी सेनाले हुथीका ब्यालिस्टिक मिसाइल तथा ड्रोन अपरेसन प्रमुख "अबु अल-फजल अल-हदरामी" (Abu al-Fadl al-Hadrami) लाई मारेको दाबी गरेको छ।

साउदी गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल-मलिकीले हुथीहरूले बाह्य सहयोगमा अत्याधुनिक सैन्य प्रविधि, ब्यालिस्टिक मिसाइल, घातक ड्रोन र विष्फोटक डुंगाहरू प्राप्त गरेको बताएका छन्। हालै रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल लगायतका क्षेत्रमा भएका आक्रमणले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय जलमार्गमा ठूलो खतरा पैदा गरेको गठबन्धनको भनाइ छ।

साउदी अरबका विमानस्थल, तेल पूर्वाधार र समुद्री यातायातमाथि हुथीको बढ्दो आक्रमणले इन्धनको मूल्य र ऊर्जा आपूर्तिमा विश्वव्यापी चिन्ता बढाएको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसल (Truth Social) मा लेख्दै हुथीहरूले इरानको उक्साहटमा खनिज तेलको मूल्य बढाउने नियतले साउदी अरबमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्।