पाकिस्तानमा स्कुलको छाना खस्दा ३५ को मृत्यु, ४० भन्दा बढी घाइते

पाकिस्तानमा स्कुलको छाना खस्दा ३५ को मृत्यु, ४० भन्दा बढी घाइते

काठमाडौं । पाकिस्तानको पेशावरमा बिहीबार एउटा निजी स्कुलको छाना खस्दा मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ।

मृतकमध्ये ३४ जना विद्यार्थी र एक जना महिला शिक्षक रहेका छन्। सबै बालबालिका १३ वर्ष वा सोभन्दा कम उमेरका हुन्।

यो दुर्घटना दीर कोलोनिए क्षेत्रमा भएको हो। यस घटनामा ४० भन्दा बढी मानिस घाइते भएका छन्। उनीहरूको उपचारका लागि अस्पतालमा आपतकाल घोषणा गरिएको छ। अस्पतालको ट्रमा वार्डमा डाक्टर र अन्य स्वास्थ्यकर्मीहरूलाई तैनाथ गरिएको छ।

दुर्घटनालगत्तै स्कुल परिसरमा मानिसहरूको भिड जम्मा भएको थियो। मलबेमा अझै केही मानिसहरू च्यापिएको आशङ्कामा खोजी तथा उद्धार कार्य जारी छ।

पाकिस्तानी सैनिकहरूले पनि उद्धार र राहत एजेन्सीहरूलाई सघाएका छन्। उनीहरू मलबेमा फसेका बालबालिका र स्कुलका कर्मचारीहरूलाई बाहिर निकालेर अस्पताल पुर्‍याउन खटिएका छन्।

प्रधानमन्त्री शहबाज सरिफद्वारा दुःख व्यक्त

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले यस दुर्घटनामा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दै यो कठिन समयमा उनीहरूलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी प्रार्थना गरेका छन्।

प्रधानमन्त्रीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अधिकारीहरूलाई घाइतेहरूका लागि उत्कृष्ट चिकित्सा व्यवस्था मिलाउन र उद्धार कार्यलाई तीव्र पार्न निर्देशन दिएका छन्।

खैबर पख्तूनख्वाका गभर्नर फैसल करिम कुन्डीले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृत बालबालिकाका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

मासुम बालबालिकाको ज्यान जानु अत्यन्तै दुःखद त्रासदी भएको बताउँदै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् र सम्बन्धित अधिकारीहरूलाई उनीहरूलाई उत्कृष्ट उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका छन्। साथै, उनले अधिकारीहरूबाट स्कुलको छाना खस्नुको विस्तृत रिपोर्ट माग गर्दै दुर्घटनाको मुख्य कारण पत्ता लगाउन निर्देशन दिएका छन्।