काठमाडाैं। पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएको छ, तर उनको दाहिने फोक्सोको तल्लो भाग (लोब) हटाउने शल्यक्रिया सफल भएको भ्याटिकनले एक मेडिकल बुलेटिनमार्फत जनाएको छ।
७१ वर्षीय पोपको मंगलबार रोमस्थित जेमेली अस्पतालमा ९० मिनेट लामो शल्यक्रिया गरिएको थियो। त्यसपछि उनलाई ‘लङ एडेनोकार्सिनोमा’ (फोक्सोको क्यान्सरको एक प्रकार) भएको निदान गरिएको थियो।
भ्याटिकनले भनेको छ, “शल्यक्रिया सफल भयो र कुनै जटिलता आएन।” विज्ञप्तिमा थपिएको छ, “शल्यक्रियापछि पोप सामान्य रूपमा ब्युँझनुभयो र केही समयको निगरानीपछि आफ्नो कोठामा फर्कनुभयो।”
भ्याटिकनले “नियमित जाँच” भनेर वर्णन गरेको परीक्षणका क्रममा सुरुमा फोक्सोमा ट्युमर/गिर्खा भेटिएको थियो।
यसअघि, ठूलो सङ्ख्यामा उपस्थित मानिसहरूले पोपलाई अभिवादन गर्न अस्पताल बाहिर घन्टाैँसम्म पर्खिएका थिए। उनीहरूले शुभकामना दिँदै नारा लगाउँदा पोपले आफ्नो गाडीको पछिल्लो झ्यालको सिसा ओरालेर मुस्कुराउँदै हात हल्लाएका थिए।
त्यसपछि अस्पतालका कर्मचारीहरूले उनलाई ढोकामा स्वागत गरेका थिए। एक कर्मचारीले सहानुभूति प्रकट गर्दै “म दुःखी छु” भन्दा पोपले मुस्कुराउँदै काँध हल्लाएका थिए। कर्मचारीले उनलाई आश्वस्त पार्दै भनेका थिए, “हामी यहाँ तपाईंकै लागि छौँ।”
आफ्नो वक्तव्यमा भ्याटिकनले प्रक्रिया पूर्ण रूपमा सफल होस् भन्ने सुनिश्चित गर्न पोपको दाहिने फोक्सोको सिङ्गो तल्लो भाग निकालिएको बताएको छ।
क्यान्सर अन्यत्र फैलिएको छ कि छैन भनेर हेर्न थप परीक्षणहरू भइरहेको भ्याटिकन स्रोतले एएफपी (Agence France-Presse) समाचार एजेन्सीलाई बताएको छ।
पोप लियो चौधौँ स्वयंले नै आइतबार सेन्ट पिटर्स स्क्वायरको बार्केलीबाट परम्परागत ‘एन्जेलस’ आशीर्वाद दिएपछि विश्वभर आफ्नो शल्यक्रियाको खबर घोषणा गरेका थिए।
उनले आफ्नो फोक्सोमा देखिएको गिर्खा/ट्युमर “नियन्त्रित” रहेको र “सुरुवाती चरणमै” भेटिएको, तर डाक्टरहरूले त्यसलाई हटाउन सल्लाह दिएको बताएका थिए।
जेमेली अस्पतालको थोरासिक सर्जरी टोलीले पोपको शल्यक्रिया गरेको हो। उनलाई निको हुन समय दिनका लागि अक्टोबर २० सम्मका उनका सबै कार्यतालिकाहरू रद्द गरिएका छन्।
गिर्खाहरू हुनु सामान्य हो र ती सबै क्यान्सर नै हुन्छन् भन्ने हुँदैन, तर परीक्षणपछि मेडिकल टोलीले पूर्व-परीक्षणहरूमा आशङ्का गरिएअनुसार नै यो ‘पल्मोनरी एडेनोकार्सिनोमा’ भएको पुष्टि गरेको भ्याटिकनले जनाएको छ।
सामान्यतया स्वस्थ मानिने पोन्टिफ (पोप) मा सङ्क्रमण वा बिरामीको कुनै लक्षण नरहेको भ्याटिकनले स्पष्ट पारेको छ।
टोकियोका कार्डिनल किकुची तार्किसियो इसाओले सोसल मिडियामा सोमबार पोप लियोसँग आफ्नो भेटघाट भएको र त्यसबेला पोपलाई शारीरिक रूपमा “कुनै समस्या महसुस नभएको” लेखेका छन्।
कार्डिनलका अनुसार पोप नोभेम्बरको सुरुमा ल्याटिन अमेरिका भ्रमणमा जाने तय भएकाले र सो योजनामा कायम रहन उत्सुक भएकाले यथाशीघ्र शल्यक्रिया गराउने निर्णय गरेका थिए।
यो भ्रमण विशेष रूपमा महत्त्वपूर्ण छ किनकि यसमा पेरुको भ्रमण पनि समावेश छ, जहाँ पोप वर्षौँसम्म मिसनरी र पछि बिसपका रूपमा रहेका थिए।
सबै आश्वासनका बाबजुद यो खबरले विश्वभरका क्याथोलिकहरूलाई स्तब्ध बनाएको छ।
“के म चिन्तित छु? छु, किनभने मैले पक्कै पनि यस्तो केही अपेक्षा गरेको थिइनँ,” भ्याटिकनका सेक्रेटरी अफ स्टेट कार्डिनल पारोलिनले मङ्गलबार पत्रकारहरूसँग भने।
उनले यो खबर “अचानक आएको विपत्ति” जस्तै भएको स्वीकार गरे, तर पोपको “शान्त स्वभाव” ले कार्डिनलहरू प्रभावित भएको र उनी निको हुनेमा विश्वस्त रहेको बताए।
कैयौँ पोपहरूको उपचार गरिसकेको र जोन पल द्वितीयको ठूलो शालिक रहेको जेमेली अस्पताल बाहिर पोप भर्ना भएपछि केही क्याथोलिकहरू पर्खिरहेका थिए।
पोपको नजिक हुन मन लागेर विशेष रूपमा त्यहाँ आएकी कार्लाले बीबीसीसँग भनिन्, “उहाँ शान्त देखिनुहुन्छ, त्यसैले हामी पनि शान्त छौँ— यद्यपि बिरामी हुनु सधैँ दुखद कुरा हो। हामी यहाँ पर्खनेछौँ र प्रार्थना गर्नेछौँ।”
त्यहीँ उपस्थित अर्की महिला एल्साले भनिन्, “उहाँले घोषणा गर्दा म सेन्ट पिटर्स स्क्वायरमै थिएँ र मलाई साँच्चै धेरै नरमाइलो लाग्यो। म स्तब्ध भएकी थिएँ।” उनले पोप लियो निर्वाचित हुँदा उनी कम उमेरका र बढी स्वस्थ पोप हुन् भन्ने ठानेको स्पष्ट पारिन्।
“अन्ततः उहाँ पनि संवेदनशील र कमजोर नै हुनुहुँदो रहेछ,” उनले थपिन्।