कांग्रेस महामन्त्रीमा हारेपछि के भने डा. सुनिल शर्माले ?

कांग्रेस महामन्त्रीमा हारेपछि के भने डा. सुनिल शर्माले ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा पराजित भएका डा. सुनिलकुमार शर्माले निर्वाचनको परिणामले आफ्नो राजनीतिक जिम्मेवारी र पार्टी रूपान्तरणप्रतिको संकल्पलाई कमजोर नबनाएको बताएका छन् ।

सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै डा. शर्माले राजनीतिमा हारजित स्वाभाविक प्रक्रिया भएको बताएका हुन् । पदमा रहेर वा नरहेर पनि निरन्तर पार्टी र नागरिकको सेवामा समर्पित रहने प्रतिबद्धता उनको छ । आफ्नो उम्मेदवारी पद प्राप्तिको आकांक्षा मात्र नभई कांग्रेसलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने संकल्प भएको उनले स्पष्ट पारेका छन् ।

‘महान् नेता बीपी कोइरालाको विचार र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै पार्टी र जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने मेरो प्रतिबद्धता आज पनि उत्तिकै दृढ छ,’ शर्माले लेखेका छन् । निर्वाचनमा हार बेहोरे पनि उनले १५ औँ महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । साथै, आफूलाई विश्वास गरेर मतदान गर्ने स्वदेश तथा विदेशबाट आएका महाधिवेशन प्रतिनिधि, अहोरात्र खटिने अग्रज, सहयात्री र शुभेच्छुकप्रति विशेष आभार प्रकट गरेका छन् ।

प्राप्त मत र सद्भावले आफूलाई अझ सशक्त रूपमा काम गर्ने प्रेरणा मिलेको बताउँदै उनले अगाडि भनेका छन्, ‘पदमा रहेर वा नरहेर, पार्टी र देशका दूरदराजमा बसोबास गर्ने आम नागरिकको सेवामा समर्पित थिएँ । कांग्रेसभित्र सकारात्मक परिवर्तन, सुदृढ संगठन र जनउत्तरदायी राजनीतिक संस्कारको स्थापनाका लागि मेरो प्रयास र सक्रियता निरन्तर जारी रहनेछ ।’

डा. शर्माले आगामी दिनमा पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका नेतागण, निर्वाचित पदाधिकारी तथा पार्टीका आधारस्तम्भका रूपमा रहेका सम्पूर्ण कार्यकर्ताहरूसँगै मिलेर देश र जनताको हितमा काम गर्ने प्रण गरेका छन् । जनसेवा र देशको समुन्नतिका लागि आफू निरन्तर अघि बढिरहने उनको भनाइ छ ।

छुटाउनुभयो कि ?