काठमाडौं। टोखा नगरपालिका वडा नम्बर ४ मा रहेको ‘देउराली जनता फर्मास्युटिकल्स प्रालि’बाट उत्सर्जन हुने ध्वनि र धुवाँका कारण स्थानीय बासिन्दा लामो समयदेखि समस्यामा परेका छन्। उद्योग स्थापनाकालदेखि नै नियन्त्रणहीन रूपमा निस्कने वायु र ध्वनि प्रदूषणका कारण आसपासका बासिन्दाको स्वास्थ्य र दैनिकीमा गम्भीर असर परिरहेको छ।
स्थानीयका अनुसार उद्योगले वायु र ध्वनि प्रदूषणसम्बन्धी न्यूनतम वातावरणीय मापदण्डको समेत पालना गरेको छैन। कुनै निश्चित समय तालिकाविना दिनहुँ, बिहान, साँझ, सार्वजनिक बिदा तथा शनिबारका दिनसमेत निरन्तर रूपमा धुवाँ छाड्ने र चर्को आवाज निकाल्ने गरिएकाले स्थानीय बासिन्दा आफ्नै घरभित्र पनि शान्तसित बस्न नसक्ने अवस्था बनेको छ।

औद्योगिक क्षेत्र वा बस्तीभन्दा टाढा सञ्चालन हुनुपर्ने उद्योग घना बस्तीको बीचमा हुँदा र प्रदूषण नियन्त्रणका लागि ठोस प्रविधि (जस्तै: साइलेन्सर, धुवाँ फिल्टर गर्ने चिम्नी/स्क्रबर) प्रयोग नगरिँदा साना बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासका बिरामीहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
स्थानीय बासिन्दाहरूले कम्पनीको गैरजिम्मेवारपूर्ण रवैया र समय मापदण्डको बेवास्ताप्रति आपत्ति जनाउँदै आएका छन्। यस विषयमा टोखा नगरपालिका, वडा कार्यालय र वातावरण विभागले तत्काल स्थलगत अनुगमन गरी प्रदूषण नियन्त्रणका लागि कडाइका साथ कदम चाल्नुपर्ने वा बस्तीबाट प्रदूषण असर हटाउनुपर्ने माग स्थानीयको छ।