देशका प्रमुख सडकहरूमा पहिरोको बाधा: कहाँ-कहाँ अवरुद्ध छन् राजमार्गहरू?

देशका प्रमुख सडकहरूमा पहिरोको बाधा: कहाँ-कहाँ अवरुद्ध छन् राजमार्गहरू?

काठमाडौं।  अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा रहेका मुख्य राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार विभिन्न प्रदेशका महत्त्वपूर्ण सडकहरू पूर्ण तथा एकतर्फी रूपमा अवरुद्ध बनेका छन्।

धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा पहिरो खसेपछि पृथ्वी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा लेदो र बाढी आएपछि बिपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा ठप्प बनेको छ। त्रिभुवन राजपथको धादिङस्थित खत्रीपौवा खण्डमा भने पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ। रसुवा जोड्ने मुख्य राजमार्गहरू बाढीका कारण अझै पूर्ण रूपमा बन्द नै रहेका छन्।

बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको बैसरीमा पहिरो खस्दा सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ। यस्तै, कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी पूर्वको जन्ती पहिरो क्षेत्रमा सडक एकतर्फी खुले पनि ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। मनाङको बेसीसहर–खाङसार सडकखण्ड पनि बाढीका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको छ।

लुम्बिनी प्रदेशको गुल्मीस्थित कालीगण्डकी करिडोरको राक्सेमा खसेको पहिरोले बाटो पूर्ण रूपमा अवरुद्ध बनाएको छ। उता कर्णाली प्रदेशको डोल्पास्थित त्रिपुरासुन्दरी क्षेत्रमा पर्ने भेरी कोरिडोर पहिरोपछि एकतर्फी सुचारु भएको छ भने सल्यानको बनगाड कुपिण्डेस्थित बालुवासंग्रही सडकखण्ड पहिरोकै कारण पूर्ण रूपमा ठप्प रहेको छ।

सडक विभाग तथा सुरक्षा निकायको टोली पहिरो पन्छाएर अवरुद्ध सडकहरू पूर्ण रूपमा सुचारु गराउन निरन्तर खटिरहेका छन्। यात्रामा निस्कनुअघि सम्बन्धित सडकको पछिल्लो अवस्थाबारे नजिकैको ट्राफिक प्रहरी वा प्रहरी कार्यालयमा जानकारी लिन नेपाल प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?