आज र भोलि सम्पूर्ण विद्यालय विदा

आज र भोलि सम्पूर्ण विद्यालय विदा

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग एवम् राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार आगामी असोज ९, १० र ११ गते देशभर भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङ पर्ने सम्भावना देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ।

मौसम प्रतिकूलताका कारण बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरोका साथै सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले सबै शिक्षण संस्था, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय तहहरूलाई पूर्वतयारी र उच्च सावधानी अपनाउन अनुरोध गरेको छ।

मन्त्रालयद्वारा जारी सूचनामा देहाय बमोजिमका निर्णय तथा आग्रहहरू समेटिएका छन्:

१. विद्यालय बिदा सम्बन्धी: बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राखी असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकतानुसार विद्यालयहरूमा बिदा दिन गराउन आग्रह गरिएको छ।

२. परीक्षा स्थगन: असोज ९ गतेदेखि ११ गतेसम्म तोकिएका विश्वविद्यालय तथा अन्य निकायका सम्पूर्ण परीक्षाहरू आवश्यकतानुसार स्थगित गर्न भनिएको छ।

३. अस्थायी आश्रयस्थल: सुरक्षित विद्यालय भवनहरूलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने स्थिति आएमा स्थानीय तहलाई सहजीकरण गर्न आग्रह गरिएको छ।

४. अभिभावकलाई सजगता: विपद्को जोखिमलाई मध्यनजर गर्दै अभिभावकहरूलाई आफ्ना बालबालिकाहरूलाई नदी, खोला, पोखरी तथा पहिरोग्रस्त क्षेत्रमा जान नदिन विशेष अनुरोध गरिएको छ।

मन्त्रालयका प्रवक्ता एवम् सहसचिव श्रीप्रसाद भट्टराईद्वारा हस्ताक्षरित उक्त सूचनामा विपद्को समयमा त्रासभन्दा पनि सावधानी र बुद्धिमत्तापूर्वक पूर्वतयारीमा जुट्न सबै सरोकारवालाहरूलाई आग्रह गरिएको छ।

छुटाउनुभयो कि ?