रसुवा। रसुवाको आमाछोदिङमो गाउँपालिका–१ स्थित हाकुबेँसी गाउँका १५६ परिवारले भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसपछिको निरन्तरको पहिरोका कारण बस्ती पूर्ण रूपमा जोखिममा परेको भन्दै सुरक्षित स्थानमा स्थानान्तरणका लागि प्रमुख जिल्ला अधिकारीसमक्ष लिखित माग बुझाएका छन्।
बाढी आएको साढे दुई महिना बितिसक्दा पनि नदीको तीव्र कटान र कमजोर भूबनोटका कारण पहिरो खस्ने क्रम जारी छ, जसले गर्दा गाउँका आवासीय घरहरूसँगै एक विद्यालय र प्रहरी चौकीसमेत गम्भीर सङ्कटमा परेका छन्।
गाउँपालिका अध्यक्ष बुचुङ तामाङले नागरिकको सुरक्षित आवासको अधिकार प्रत्याभूत गराउन बस्तीलाई तत्काल अन्यत्र सार्नुको विकल्प नरहेको बताएका छन्।
यसैबीच, जिल्ला विपद् व्यवस्थापन समितिले बाढीका कारण बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिहरूको विवरण वडा तहबाट सङ्कलन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गर्ने प्रक्रिया अघि बढाएको छ।
प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार जोखिमयुक्त बस्ती स्थानान्तरणका सम्बन्धमा भूगर्भविद्हरूले स्थलगत अध्ययन गरेपछि मात्रै अन्तिम तथा ठोस निर्णय लिइनेछ।