काठमाडाैं। यमपञ्चकको दोस्रो दिन कुकुर तिहारका अवसरमा भक्तपुरको सानोठिमीस्थित श्री भैरव वाहन गुल्ममा तालिमप्राप्त सैनिक कुकुरहरूबाट विभिन्न कला प्रदर्शनी तथा सांस्कृतिक प्रस्तुति सम्पन्न भएको छ।
प्रदर्शनीका क्रममा कुकुरहरूले दौड, बेपत्ताको खोजी, शङ्कास्पद वस्तुको निगरानी तथा पहिचान, अपराधीको खोजी र हाई जम्प जस्ता साहसिक क्षमता प्रदर्शन गरेका थिए। सो अवसरमा गुल्ममा रहेका सम्पूर्ण कुकुरहरूको विधिपूर्वक पूजाआजा गरिएको थियो।
प्रदर्शनी अवलोकन गर्दै नेपाली सेनाका उपरथी हरेन्द्र पाठकले कुकुरलाई कर्तव्यनिष्ठ र इमानदार जनावरका रूपमा स्मरण गर्दै यसको तीव्र सुँघ्ने क्षमताका कारण विभिन्न अपराध अनुसन्धानमा महत्त्वपूर्ण सहयोग पुग्दै आएको बताए।
गुल्मपति सेनानी निज महराले अतिविशिष्ट व्यक्तिको सुरक्षा, सम्भावित दुर्घटनाको पूर्वसूचना सङ्कलन र खोजतलास कार्यमा कुकुर परिचालनको विधिबारे प्रकाश पार्नुभएको थियो। विक्रम संवत् २०६० मा स्थापित उक्त गुल्मले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनका साथै प्राकृतिक प्रकोप र विपद् व्यवस्थापनमा समेत तालिमप्राप्त कुकुरहरू परिचालन गर्दै आएको छ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय श्रेष्ठलगायत स्थानीय जनप्रतिनिधि र सैनिक अधिकारीहरूको उपस्थिति रहेको थियो। धार्मिक मान्यताअनुसार यमराजको दूत र भैरवको वाहनका रूपमा पुजिने कुकुरलाई आज्ञापालक, सुरक्षा दिने र इमानदार जनावरका रूपमा लिइन्छ।