पश्चिमी वायुको प्रभाव: हिमाली र पहाडी भूभागमा वर्षा तथा हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव: हिमाली र पहाडी भूभागमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ। यसको प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम र कर्णालीका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका साथै कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राति देशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।