देशका विभिन्न स्थानमा भएका दुर्घटनामा आठ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं। कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा पछिल्लो २४ घण्टामा भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ ।
 
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदवास्थित सडकमा लु१ख ९७२६ नम्बरको बसको ठक्करबाट कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगर बस्ने ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ ।
 
 यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका–५ वनवीरपुर चौबाटो चोकस्थित सडकमा सुपप्र०१–००८प ५८७७ नम्बरको मोटरसाइकल र भे१०प ९९३६ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
 
दुर्घटनामा गम्भीर घाइते भएका अभिषेक चौधरीको जिल्ला अस्पताल बर्दियामा र महेन्द्र रिजालको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
 
दैलेखको गुराँस गाउँपालिका–१ काफल तोलीस्थित सडकमा कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको क प्र ०२–००१ च १२१५ नम्बरको बोलेरो आज बिहान दुर्घटना हुँदा चालक कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–७ बस्ने २२ वर्षीय योगेश सिंखडा र बोलेरोमा सवार सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय रने सार्कीको मृत्यु भएको छ ।
 
नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा बा ९९ प ८२०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–९ बस्ने धादिङ खनियाबास गाउँपालिका–५ घर भएका ४७ वर्षीय बुद्धिमान तामाङ, मोटरसाइकलमा सवार सोही नगरपालिका–१३ बस्ने ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको छ ।