स्याफ्रुबेँसीमा काठे पुल निर्माण: आवतजावत सहज

स्याफ्रुबेँसीमा काठे पुल निर्माण: आवतजावत सहज

रसुवा। भोटेकोशी नदीमा आएको बाढीले बगाएको स्याफ्रुबेँसीस्थित काठे पुल तीन दिनको निरन्तर प्रयासपछि पुनर्निर्माण गरिएको छ। पुल सञ्चालनमा आएपछि रसुवाका उत्तरी क्षेत्रका बासिन्दालाई आवतजावतमा ठूलो राहत मिलेको छ।

गोसाइँकुण्ड गाउँपालिका–५ स्थित स्याफ्रुबेँसीमा स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजको संयुक्त प्रयासमा पुल पुनर्निर्माण सम्पन्न भएको हो।

नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका वडा प्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको श्रमदान र सक्रिय सहभागिताले यो कार्य सम्भव भएको हो। यसअघि गत कात्तिक १४ गते नदीमा आएको बाढीले सो पुल बगाएको थियो।

गत भदौ १० गतेको विनाशकारी बाढीले यस क्षेत्रको पक्की पुल र सडकखण्ड बगाएपछि रसुवाको उत्तरी भेगमा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो। लामो समयसम्म यातायात र पैदलमार्ग समेत अवरुद्ध हुँदा गोसाइँकुण्ड गाउँपालिका (वडा नं १ देखि ५) र आमाछोदिङ्मो गाउँपालिका (वडा नं १ देखि ५) का सर्वसाधारणले निकै सास्ती भोग्दै आएका थिए।

बाढीले सडक सञ्जाल विच्छेद गराएपछि अस्थायी रूपमा बनाइएको काठेपुलसमेत नदीको बहाव बढेर बगेको थियो। हाल सबै पक्षको संयुक्त प्रयासमा पुल पुनः सञ्चालनमा आएपछि स्थानीय बासिन्दा र त्यस क्षेत्रमा यात्रा गर्ने यात्रुहरूको पैदल आवतजावत सहज बनेको आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गोम्बोछिरिङ तामाङ (रामबहादुर) ले जानकारी दिनुभएको छ।