वाणिज्य बैंकहरूको नाफा झन्डै नौ अर्ब, नबिल अग्रस्थानमा; विकास बैंकहरूको नाफा भने घट्यो

वाणिज्य बैंकहरूको नाफा झन्डै नौ अर्ब, नबिल अग्रस्थानमा; विकास बैंकहरूको नाफा भने घट्यो

काठमाडौं।  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले कुल आठ अर्ब ७३ करोड ७२ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कुल नाफा गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधि (आठ अर्ब ३८ करोड ३० लाख रुपैयाँ) को तुलनामा ४.२३ प्रतिशतले बढेको छ।

साउन महिनामा सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल बैंक बनेको छ, जसले ८८ करोड ३१ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। नाफाका आधारमा दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ८१ करोड ३६ लाख र तेस्रो स्थानको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ७३ करोड ४४ लाख ४० हजार रुपैयाँ नाफा कमाएका छन्।

यसैगरी, कुमारी बैंकले ५४ करोड सात लाख नौ हजार, राष्ट्रिय वाणिज्य बैंकले ५२ करोड ३९ लाख ४० हजार, प्राइम कमर्सियल बैंकले ५२ करोड १८ लाख ३० हजार, लक्ष्मी सनराइज बैंकले ४९ करोड ६७ लाख ५० हजार, एभरेष्ट बैंकले ४९ करोड २१ लाख ९० हजार र एनएमबी बैंकले ४७ करोड ९० लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेका छन्।

अन्य बैंकहरूमा सिद्धार्थ बैंकको ४२ करोड ९४ लाख ९० हजार, कृषि विकास बैंकको ३८ करोड ८२ लाख ९० हजार, सानिमा बैंकको ३८ करोड २८ लाख १० हजार, प्रभु बैंकको ३२ करोड ९३ लाख ९० हजार, नेपाल बैंकको ३० करोड ८६ लाख ४० हजार, हिमालयन बैंकको २७ करोड ३० लाख २० हजार र माछापुच्छ्रे बैंकको २७ करोड २७ लाख ८० हजार रुपैयाँ नाफा रहेको छ। त्यस्तै सिटिजन्स बैंकले २५ करोड ९२ लाख ८० हजार, एनआइसी एसिया बैंकले २२ करोड १७ लाख १० हजार, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले २० करोड ३८ लाख ८० हजार र सबैभन्दा कम नाफा कमाएको नेपाल एसबिआई बैंकले १७ करोड ५९ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएका छन्।

विकास बैंकहरूको नाफा ५.२० प्रतिशतले घट्यो

वाणिज्य बैंकहरूको नाफा बढे पनि चालु आर्थिक वर्षको साउन महिनामा सञ्चालनमा रहेका १७ विकास बैंकहरूको कुल नाफा भने ५.२० प्रतिशतले घटेर ६५ करोड ७९ लाख ७० हजार रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले ६९ करोड ४० लाख ८० हजार रुपैयाँ नाफा कमाएका थिए।

समीक्षा अवधिमा नौवटा विकास बैंकको नाफा अघिल्लो वर्षको तुलनामा बढेको छ भने आठवटाको घटेको छ। सर्वाधिक नाफा आर्जन गरेको मुक्तिनाथ विकास बैंकको नाफा १५.२० प्रतिशतले घटेर १३ करोड ३३ लाख ७० हजार रुपैयाँमा सीमित भएको छ। दोस्रो स्थानको गरिमा विकास बैंकको नाफा पनि ४.५४ प्रतिशतले घटेर १२ करोड ७८ लाख ९० हजार रुपैयाँ रहेको छ। यता महालक्ष्मी विकास बैंकले भने नाफा ७८.५९ प्रतिशतले बढाउँदै १० करोड ८२ लाख ८० हजार रुपैयाँ पुर्‍याएको छ।

यस्तै, कामना सेवा विकास बैंकले नौ करोड ९९ लाख ५० हजार, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले नौ करोड ५० लाख ७० हजार, ज्योति विकास बैंकले आठ करोड ५६ लाख ३० हजार, सांग्रिला डेभलपमेन्ट बैंकले चार करोड ७४ लाख ९० हजार, मितेरी डेभलपमेन्ट बैंकले ९४ लाख ६० हजार, लुम्बिनी विकास बैंकले ९१ लाख ४० हजार, ग्रिन विकास बैंकले ५५ लाख १० हजार र सप्तकोशी डेभलपमेन्ट बैंकले १७ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएका छन्।

यता, चारवटा विकास बैंकको नाफा भने ऋणात्मक (घाटामा) रहेको छ। जसमा कर्पोरेट डेभलपमेन्ट बैंक १५ लाख ४० हजार, सिन्धु विकास बैंक ३८ लाख ३० हजार, कर्णाली डेभलपमेन्ट बैंक ८३ लाख ६० हजार र एक्सेल डेभलपमेन्ट बैंक पाँच करोड २४ लाख ८० हजार रुपैयाँ नोक्सानीमा रहेका छन्।

छुटाउनुभयो कि ?