काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढेको छ । साउनदेखि असोजसम्मको अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशत अर्थात् एक खर्ब ८४ अर्ब १९ करोड रुपैयाँले वृद्धि भई ६० खर्ब ४१ अर्ब २५ करोड रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा १.५ प्रतिशत अर्थात् ८२ अर्ब ९३ करोड रुपैयाँले मात्र बढेको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको त्रैमासिक तथ्याङ्कअनुसार वार्षिक बिन्दुगत आधारमा २०८३ असोज मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.३ प्रतिशतले उकालो लागेको छ । असोज मसान्तसम्मको कुल निजी क्षेत्र कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ ६२.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.१ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा यी दुई क्षेत्रको अंश क्रमशः ६२.८ र ३७.२ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा संस्थागत तहमा हेर्दा वाणिज्य बैंकहरूको कर्जा ३.२ प्रतिशत र विकास बैंकहरूको कर्जा ३.१ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरूको कर्जा १.२ प्रतिशतले घटेको छ । यस्तै, २०८३ असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को सुरक्षणमा १५.५ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६२.७ प्रतिशत कर्जा रहेको छ । अघिल्लो वर्षको असोज मसान्तमा त्यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १५.० र ६४.३ प्रतिशत थियो ।
चालु आवको तीन महिनामा विभिन्न क्षेत्रगत कर्जामा मिश्रित उतारचढाव देखिएको छ । यस अवधिमा खनिज क्षेत्रतर्फको कर्जा १७.८ प्रतिशत, यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रतर्फ १२.४ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन र मर्मत क्षेत्रतर्फ १०.७ प्रतिशत, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ५.४ प्रतिशत, सेवा उद्योग तथा थोक र खुद्रा व्यापार क्षेत्रतर्फ समान ३.९ प्रतिशत, यातायात र निर्माण क्षेत्रतर्फ ३.८ प्रतिशत तथा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले बढेको छ । अर्कातर्फ, कृषि क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ०.७ प्रतिशतले घटेको छ ।
कर्जाको प्रकारअनुसार समीक्षा अवधिमा विपन्न वर्ग कर्जा १५.१ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ५.२ प्रतिशत, व्यक्तिगत आवासीय घर कर्जासहितको रियल स्टेट कर्जा ३.५ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा र मार्जिन प्रकृतिको कर्जा समान २.९ प्रतिशत, आवधिक कर्जा २.६ प्रतिशत, अधिविकर्ष कर्जा १.५ प्रतिशत र हायर पर्चेज कर्जा १.२ प्रतिशतले विस्तार भएको छ । सोही अवधिमा क्यास क्रेडिट कर्जा भने १.८ प्रतिशतले खुम्चिएको छ ।
समीक्षा अवधिमा केन्द्रीय बैंकले कुल ५५ खर्ब ९५ अर्ब २० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न मौद्रिक उपकरणमार्फत् पटक–पटक गरी १३ खर्ब ७५ अर्ब ९५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो । २०८३ असोज मसान्तसम्म निक्षेप सङ्कलन बोलकबोलमार्फत् छ खर्ब ६५ अर्ब ८० करोड र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत् चार खर्ब रुपैयाँ गरी कुल १० खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ प्रशोचन गरिएको तरलता राष्ट्र बैंकमा बक्यौता रहेको छ ।
यसैगरी, समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारअन्तर्गत वाणिज्य बैंकहरूबाट दुई अर्ब २५ करोड अमेरिकी डलर खुद खरिद गरी तीन खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ८६ करोड अमेरिकी डलर खुद खरिद गरी दुई खर्ब ६२ अर्ब १४ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा ९२ करोड अमेरिकी डलर बिक्री गरी एक खर्ब ४१ अर्ब २७ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको छ भने अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब १२ करोड अमेरिकी डलर बिक्री गरी एक खर्ब ५८ अर्ब सात करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो ।