सुनको मूल्य घटेको घट्यै, बजारमा देखिन थाल्यो अभाव

सुनको मूल्य घटेको घट्यै, बजारमा देखिन थाल्यो अभाव

काठमाडौँ । सुनको भाउ शुक्रबार एकै दिन १२ हजार रुपैयाँ भन्दा धेरैले घट्यो । योसँगै सुन २ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको छ । 

विश्व बजारमा सुनको मूल्य प्रतिऔंस ३५०० डलरसम्म झर्न सक्ने प्रक्षेपण गरिएको थियो । यता नेपालमा यो मूल्य प्रतितोला २ लाख ५० हजार हाराहारीमा झर्ने प्रक्षेपण थियो । यो गिरावटले विश्व बजारको मनोवैज्ञानिक रेखाको नजिक सुनको मूल्यलाई ओराल्यो भने नेपाली बजारको विन्दु तोडियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन ३५०० डलरको नजिक आइसकेपछि आज बजारले केही सुधारको सङ्केत देखाएको छ । योसँगै अव सुनको मूल्य कता जाला भन्ने चासो देखिएको छ । 

किन घटिरहेको छ सुनको भाउ ?
अन्तर्राष्ट्रिय बजारका विभिन्न आर्थिक र राजनीतिक सूचकका कारण सुनको मूल्यमा लगातार चाप परेको छ । 

अमेरिकामा महँगी दर अझै नियन्त्रणमा नआएकाले आगामी डिसेम्बरमा बस्ने अमेरिकी केन्द्रीय बैङ्कको बैठकले ब्याजदर पुनः बढाउने करिब ९५ प्रतिशत सम्भावना देखिएको छ । यद्यपि ब्याजदर ०.२५ प्रतिशत विन्दुले मात्रै बढ्छ कि ०.५० प्रतिशतले बढ्छ अनुमानको विषय बनेको छ । 

ब्याजदर बढ्दा सुनमा भन्दा सरकारी बन्ड र डलरमा लगानी गर्दा बढी प्रतिफल मिल्ने भएकाले लगानीकर्ताहरू सुनबाट बाहिरिएका छन् । यसैगरी, अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर सूचकाङ्क १९ महिनायताकै उच्च विन्दुमा पुगेको छ । 

डलर बलियो हुँदा अन्य मुद्रा भएका देशहरूका लागि सुन महँगो पर्न गई माग घटेको हो । यता भारतीय मुद्रा बलियो भएसँगै नेपालमा अमेरिकी डलरको विनिमय दर करिब १५२ बाट घटेर १४९ रुपैयाँ आसपास झरेको छ, जसले नेपालमा सुन आयात लागत घटाउन मद्दत गरेको छ ।

सामान्यतया सुनलाई अनिश्चित समयमा लगानी सुरक्षाको प्रमुख माध्यमको रूपमा हेरिँदै आएको थियो । अन्तर्राष्ट्रिय राजनीतिक अस्थिरता कारण स्टक मार्केट र तेल बजारमा असर गर्दा सुन बजारलाई सुरक्षित मानिन्थ्यो । तर, अहिले सुनले ‘सेफ हेभन’को आफ्नो विरासत धान्न छाडेको छ । अनिश्चितता बढ्दा मूल्य पनि घट्ने अवस्था देखिएको छ । 

बिहीबार चीनको सेञ्जेनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिङपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको भेटवार्ता खासै सफल भएन । यदि भेटवार्ताले मूर्त रुप लिएर युक्रेन तथा पश्चिम एसियाको समस्या समाधानोन्मुख भएको थियो भने यसले सुनको मूल्यमा सुधार देखिन सक्थ्यो, किनकी यसले विश्व बजारमा महँगी घटाउन मद्दत गर्थ्यो । 

तर, वार्ता त्यति सकारात्मक देखिएन । रुसी राष्ट्रपति पुटिनले त सार्वजनिक रूपमै भेटवार्ता सोचे जति सफल नभएको बताएका थिए । विश्व शक्ति राष्ट्रहरूबिच भइरहेका पछिल्ला संवादहरू पूर्णतः आशावादी नदेखिएकाले भाउ घट्नुपर्ने ठोस कारण नहुँदा पनि मूल्य ओरालो लाग्नुले बजार अनिश्चित बनेको विश्लेषण छ ।

अब कता जाला मूल्य ?
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्ने क्रममा केही सुधार देखिए पनि तत्काल मूल्य बढ्ने सम्भावना भने कम रहेको विश्लेषण गरिएको छ । यसको कारण हो अमेरिकी फेडरल रिजर्भले बढाउन लागेको ब्याजदर । 

आगामी डिसेम्बर ८–९ मा हुने अमेरिकी फेडरल रिजर्भको अल्पकालीन ब्याजदरलाई घटाउने प्रक्षेपण गरिएको छ । यो सम्भावना ९५ प्रतिशत रहेको अन्तर्राष्ट्रिय लगानीसम्बन्धी अनुसन्धान संस्थाहरूले जनाएका छन् । यो निर्णय नआउन्जेल सुनको मूल्य अस्थिर र दबाबमै रहने देखिन्छ । त्यो समयमा फेडले ब्याजदर एकै पटक ०.५० प्रतिशतले ब्याज बढायो भने यसले सुनमा अझै दबाब पर्न सक्छ । 

यद्यपि, युबिएस र गोल्डम्यान स्याक्स जस्ता ठुला अन्तर्राष्ट्रिय बैंकहरूले सन् २०२७ को मध्यतिर विभिन्न देशका केन्द्रीय बैङ्कहरूको खरिदका कारण सुनको मूल्य पुनः उकालो लाग्न सक्ने प्रक्षेपण गरेका छन् । यसले अल्पकालीन रूपमा मूल्य घटे पनि दीर्घकालमा मूल्य माथि जान सक्ने सम्भावना समेत देखाउँछ ।

मूल्य घट्दा नेपाली बजारमा सुन अभाव
अन्तर्राष्ट्रिय बजारको प्रभावले नेपाली बजारमा सुनको मूल्य अनुमान गरिएभन्दा तल झरे पनि उपभोक्ताले सस्तोमा सुन किन्न पाएका छैनन् । मङ्सिरमा विवाहको लगन सुरु भइसक्दा समेत बैंकहरूले सुन आयात नगर्दा बजारमा अभाव देखिएको व्यवसायीहरू बताउँदछन् । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार मूल्य घटेको मौका छोपेर सुन किन्न खोज्ने ग्राहक र व्यवसायीले बजारमा सुन पाउन नसकेको शाक्यले बताए ।

‘हिजोदेखि नै बजारमा सुन किन्न पाइएको छैन, बैङ्कहरूसँग सोध्दा सोमबार मात्र आइपुग्छ भन्छन्,’ शाक्यले भने, ‘बैङ्कहरूको आफूखुसी र मनोमानीका कारण बजारमा अभाव सिर्जना भएको हो ।’ 

शाक्यका अनुसार बजारमा काँचो सुन पाउन मुस्किल छ भने अर्डरअनुसारको नयाँ गहना बनाउने काम पनि रोकिएको छ । यद्यपि, पसलहरूमा पहिल्यै तयार गरिएका गहना भने करिब १० प्रतिशत जर्ती र ज्याला जोडेर प्रचलित बजार भाउमै बिक्री भइरहेको उनले जानकारी दिए ।

अहिले महँगोमा सुन किनेर स्टक राखेका व्यवसायी र सुरक्षित लगानी ठानेर सुन किन्नेहरू ठुलो घाटामा परेका छन् । 

हाल नेपालमा दैनिक २५ किलो सुन आयातको कोटा छ । यसमध्ये उपत्यकाभित्रको आधा कोटा सुनचाँदी व्यवसायी सङ्घले र बाँकी आधा रत्न आभूषण, कला व्यवसायी तथा हस्तकला महासङ्घले पाउँछन् । 

उपत्यका बाहिरको कोटामा भने ६५ प्रतिशत सुनचाँदी व्यवसायी महासङ्घ र ३५ प्रतिशत रत्न आभूषण अन्तर्गतका व्यवसायीलाई वितरण गरिन्छ । मङ्सिरको लगन र घटेको भाउका कारण माग बढ्ने देखिएकाले कोटा बढाउनुपर्ने अवस्था आए पनि त्यसका लागि पहल नभएको शाक्यको गुनासो छ ।

‘अहिले दुइटै महासङ्घको नेतृत्व सफल भएन । व्यावसायिक हकहित र जनताको हित हेर्ने कोही भएनन्,’ शाक्यले भने, ‘व्यक्तिगत स्वार्थ र राजनीतिक रङ्ग भएका व्यक्तिहरू हाबी हुँदा बजार अस्तव्यस्त बन्न पुगेको छ ।’