सुख्खायाममा लोडसेडिङ हुन नदिन भारतबाट चौबिसै घण्टा १५० मेगावाट बिजुली किन्ने प्राधिकरणको तयारी

सुख्खायाममा लोडसेडिङ हुन नदिन भारतबाट चौबिसै घण्टा १५० मेगावाट बिजुली किन्ने प्राधिकरणको तयारी

काठमाडौं । आगामी सुख्खायाममा विद्युत आपूर्ति व्यवस्थापनलाई सहज बनाउन नेपाल विद्युत प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ। प्राधिकरणले आगामी सन् २०२७ को जनवरीदेखि मे महिनासम्म विद्युत आयात गर्ने गरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी थालेको हो।

भारतका अनुमतिप्राप्त विद्युत व्यापारिक कम्पनीहरूसँग प्रतिस्पर्धात्मक दरमा बिजुली किन्न बोलपत्र माग गर्ने प्रस्ताव प्राधिकरण सञ्चालक समितिमा अघि बढाइएको छ। सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार प्राधिकरणले १५० मेगावाट विद्युत चौबिसै घण्टा अर्थात् ‘राउन्ड द क्लक’ (आरटीसी) मोडमा खरिद गर्ने योजना बनाएको छ।

पछिल्ला दुई–तीन वर्षयता सुख्खायाममा आन्तरिक उत्पादनले माग धान्न नसक्दा नेपालले भारतीय पावर एक्सचेन्ज (आईईएक्स) को डे अहेड मार्केट (डीएएम) तथा रियल टाइम मार्केट (आरटीएम) मार्फत विद्युत खरिद गर्दै आएको छ। यस वर्ष भने भोटेकोशी नदीमा आएको विनाशकारी हिमबाढीका कारण निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनामा क्षति पुग्दा करिब ४३० मेगावाट विद्युत राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ, जसले आगामी सुख्खायामको आपूर्ति व्यवस्थापनलाई थप चुनौतीपूर्ण बनाएको छ।

यसअघि प्राधिकरणको विद्युत व्यापार विश्लेषण समितिले २०८३ भदौ २५ गते आगामी जनवरीदेखि मेसम्म १५० मेगावाट विद्युत आरटीसी मोडमा खरिद गर्न व्यवस्थापनसमक्ष सिफारिस गरेको थियो। समितिले आवश्यकताअनुसार थप विद्युत भारतीय पावर एक्सचेन्जबाट लिने र माग उच्च हुने अप्रिल तथा मे महिनामा तत्कालीन बजार अवस्थाका आधारमा थप खरिदको निर्णय लिनुपर्ने निष्कर्ष निकालेको थियो। आगामी सुख्खायामसम्म राष्ट्रिय प्रणालीमा करिब ३०० मेगावाट क्षमताका नयाँ आयोजना जोडिने अपेक्षा गरिए पनि नदीको जलसतह घट्ने भएकाले ती आयोजनाबाट करिब ९० मेगावाट मात्रै विद्युत उत्पादन हुने अनुमान छ।

यसअघि प्राधिकरणले सोही परिमाणको विद्युत खरिदका लागि भारतीय तीन कम्पनीसँग दररेट प्रस्ताव माग गर्दा एनटीपीसी ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतियुनिट ६ रुपैयाँ ९० पैसा भारतीय रुपैयाँ, मनिकरण इनर्जी लिमिटेडले ८ रुपैयाँ ५० पैसा र एसजेभीएन लिमिटेडले ९ रुपैयाँ दर प्रस्ताव गरेका थिए। सबैभन्दा कम दर प्रस्ताव गर्ने एनटीपीसी ट्रेडिङलाई असोज १६ गते आशयपत्र (एलओआई) जारी गरी असोज २९ गते सम्झौताका लागि बोलाइएको थियो। तर, कम्पनीले असोज ३० गते पत्र पठाउँदै भूराजनीतिक अनिश्चितता, कोइला तथा इन्धनको मूल्यवृद्धि, एल निनो प्रभाव र भारतभित्रै बढ्दो मागका कारण पुरानो दरमा सम्झौता गर्न नसक्ने जानकारी गराएको थियो।

अर्कोतर्फ, असोज २०८३ मा भारतीय विद्युत बजारको डे अहेड मार्केटमा औसत बजार समायोजन मूल्य (एमसीपी) प्रतियुनिट ७ रुपैयाँ ३४ पैसा भारतीय रुपैयाँ (नेपाली ११ रुपैयाँ ७४ पैसा) पुगेकाले पनि अघिल्लो दरमा सम्झौता हुन नसकेको अवस्थालाई थप जटिल बनाएको छ। पुरानो दरमा सम्झौता रद्द भएको र आगामी सुख्खायाममा माग तथा आपूर्तिबीचको अन्तर बढ्ने देखिएपछि प्राधिकरणले पुनः अन्तर्राष्ट्रिय बोलपत्रमार्फत प्रतिस्पर्धी दरमा विद्युत खरिद गर्ने नयाँ प्रक्रिया अघि बढाउन लागेको हो।