काठमाडौँ । नेपाल राष्ट्र बैंकले ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबर नोट नष्ट गरेको छ । गत आर्थिक वर्ष केन्द्रीय बैंकले झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोट नष्ट गरेको हो ।
२०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरू एवं सर्वसाधारणले यस बैंकमा जम्मा गर्न/सट्टाभर्ना लिन ल्याएका झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य विभिन्न दरका नोट धुल्याइ ब्रिकेट बनाएको केन्द्रीय बैंकले जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार २०८२ असार मसान्तसम्म विभिन्न दरका गरी ७ खर्ब ६१ अर्ब ४१ करोड बराबरका नोट चलनचल्तीमा रहेकोमा २०८३ असार मसान्तसम्म ६.०८ प्रतिशत वृद्धि भई ८ खर्ब ७ अर्ब बराबर नोट चलनचल्तीमा छन् ।
बैंक नोटको सुरक्षण विशेषता तथा नोटमा प्रयोग हुने प्राविधिक स्पेसिफिकेसनलाई अन्तर्राष्ट्रिय स्तर अनुसार अद्यावधिक/परिमार्जित गर्दै बैंकनोटलाई थप सुरक्षित तथा गुणस्तरीय बनाउँदै लगिएको केन्द्रीय बैंकले जनाएको छ ।
बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि ६ अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टर्स कम्पनीलाई पूर्वयोग्यता सूचीमा समावेश गरिएको केन्द्रीय बैंकले जनाएको छ । गत आव ५ रुपैयाँ दरका ३५ करोड थान बैंकनोट करार सम्झौता बमोजिम आपूर्ति भई केन्द्रीय बैंकको ढुकुटीमा राखिएका छन् । त्यसैगरी १० रुपैयाँ दरका ३४ करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता बमोजिम पहिलो लट र दोस्रो लटअन्तर्गत २३ करोड थान ढुकुटीमा सुरक्षित राखिएको छ ।
केन्द्रीय बैंकका अनुसार गत आव १०० रुपैयाँ दरको ३० करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि भएको करार सम्झौता बमोजिम पहिलो लट र दोस्रो लटअन्तर्गत २१ करोड थान आपूर्ति भई ढुकुटीमा राखिएको छ ।
त्यसैगरी ५०० रुपैयाँ दरको २३ करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि भएको करार सम्झौता बमोजिम पहिलो लटमा १२ करोड थान आपूर्ति भई ढुकुटीमा राखिएको छ ।
त्यसैगरी गत आव ५० दरको ४२ करोड थान र १००० दरको ४३ करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता भएको केन्द्रीय बैंकले जनाएको छ ।
२०८३ असार मसान्तमा विभिन्न दरका ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार बराबर नयाँ नोट मौज्दात केन्द्रीय बैंकसँग छ । अघिल्लो वर्ष यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ बराबर थियो ।