विराटनगर। अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि कायम हुने बताएका छन्।
विराटनगरमा आज आयोजित एक कार्यक्रममा उहाँले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा वर्तमान सरकारले लिएको बताए।
मन्त्री वाग्लेले भ्रष्टाचारले व्यवसायको लागत बढाउने, पहुँचका आधारमा अवसर बाँडिने र प्रतिस्पर्धा कमजोर बनाउने धारणा राखे। उनले सरकारी निकायमा अनावश्यक आर्थिक माग, बिचौलियाको हस्तक्षेप वा कानुनसम्मत काममा अवरोध भए सरकारसमक्ष जानकारी दिन निजी क्षेत्रलाई आग्रह गरेका छन्।
अर्थमन्त्री वाग्लेले यस्ता विषयमा शून्य सहनशीलताका साथ कारबाही अगाडि बढाइने जानकारी दिए। उनले कानुनसम्मत निजी सम्पत्ति, उद्योग, व्यवसाय र लगानीको सुरक्षा सरकारको आधारभूत जिम्मेवारी रहेको उल्लेख गरे। असुरक्षाको अनुभूति भए सरकारले सम्बोधन गर्ने र समान अवसर तथा निष्पक्ष प्रतिस्पर्धाको वातावरण बनाउने प्रतिबद्धता उनले व्यक्त गरे।
अर्थमन्त्री वाग्लेले आउँदो चार महिनालाई सुधारलाई परिणाममा बदल्ने महत्त्वपूर्ण अवधिका रूपमा लिइएको बताए। निजी क्षेत्रको सहकार्यमा सरकारले सुधारको गति बढाउँदै गर्दा निजी क्षेत्रले पनि नयाँ उद्योग, क्षमता विस्तार, आधुनिक प्रविधि, कृषि प्रशोधन, ऊर्जा र पर्यटन क्षेत्रमा लगानीका योजना अघि बढाउनुपर्नेमा उनले जोड दिए।
अर्थमन्त्री वाग्लेले उत्पादन लागत घटाउने, रोजगारी सिर्जना गर्ने र राज्य तथा निजी क्षेत्रबीच साझा प्रतिबद्धतामार्फत आर्थिक रूपान्तरणलाई तीव्र बनाउने सरकारको प्राथमिकता रहेको बताए। उनले बेरोजगारी र मूल्यवृद्धिलाई गम्भीर चुनौतीका रूपमा उल्लेख गर्दै आर्थिक वृद्धिको प्रतिफल नागरिकको दैनिक जीवनसँग जोडिने गरी विस्तार गर्नुपर्नेमा जोड दिए।
वर्तमान सरकार हजारौँ उद्यममार्फत रोजगारी सिर्जना गर्ने वातावरण बनाउने, युवाहरूलाई कृषि, उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र आधुनिक सेवा क्षेत्रमा अवसर दिने तथा विप्रेषण, उपभोग, आयात र राजस्वमा निर्भर चक्रलाई तोडेर बचतलाई लगानी, उत्पादन र निर्यातमा रूपान्तरण गर्ने उद्देश्यमा रहेको उनले स्पष्ट पारे।
पूर्वी नेपाल तथा विराटनगरको औद्योगिक विरासतलाई नयाँ पुस्ताको अवसरसँग जोड्दै कृषि प्रशोधन, भण्डारण, गुणस्तर प्रमाणीकरण, निर्यात र जलविद्युत्लाई औद्योगिक प्रतिस्पर्धाको आधार बनाउनुपर्ने उनको भनाइ थियो।
सरकारले अनावश्यक अवरोध हटाउने, लगानी सुरक्षा सुनिश्चित गर्ने र जवाफदेही बन्ने काम गर्ने उल्लेख गर्दै उनले निजी क्षेत्रलाई पनि नयाँ उद्योग खोल्न, प्रविधि अपनाउन, गुणस्तर बढाउन, नयाँ निर्यात बजार खोज्न र रोजगारी सिर्जना गर्न आह्वान गरे।
उनले राज्यले कार्यशैली तथा चरित्र बदल्ने र निजी क्षेत्रले लगानीको गियर बदल्नुपर्ने आवश्यकता औँल्याए।