काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित गुरुराज घिमिरेले आफ्नो राजनीतिक यात्रा नयाँ शिराबाट अघि बढाउने बताएका छन् ।
उनले महाधिवेशनमा आफूलाई विश्वास गरेर मत दिने प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै पार्टी रूपान्तरणको अभियानमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।
घिमिरेले महामन्त्री पदमा आफूलाई प्राप्त १ हजार ५१३ मतलाई संख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको प्रेरणाका रूपमा लिएको बताएका छन् ।
‘लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया हो । म यस परिणामबाट विचलित नभई नयाँ शिराबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो ।’
उनले अबको राजनीति फरक सोच, शैली र संस्कारसहित अघि बढ्नुपर्ने बताएका छन् । निष्ठा, विचार, संवाद, इमानदारी र पार्टी रूपान्तरणलाई राजनीतिको प्रमुख आधार बनाउने उनको भनाइ छ ।
घिमिरेले महाधिवेशनबाट निर्वाचित उपसभापति तथा महामन्त्रीहरूलाई बधाई दिँदै नेपाली कांग्रेसलाई थप गतिशील, लोकतान्त्रिक र जनउत्तरदायी बनाउने अभियानमा निरन्तर क्रियाशील रहने बताएका छन् ।