काठमाडौं। नेपाली कांग्रेसभित्र मौलाएको ‘भाउजू संस्कृति’ र तत्कालीन नेतृत्वको चौतर्फी घेराबन्दीबाट असन्तुष्ट बन्दै पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका चर्चित अर्थशास्त्री डा. स्वर्णिम वाग्ले यतिबेला मुलुकको राजनीतिमा पुनः चर्चाको केन्द्रबिन्दुमा आएका छन् ।
कांग्रेस छाडेर उपनिर्वाचनमार्फत संसद्मा प्रवेश गरेका डा. वाग्ले हाल दुई-तिहाइ बहुमत प्राप्त शक्तिशाली सरकारका अर्थमन्त्री हुनुका साथै मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा आसीन छन् । तनहुँ-१ बाट लगातार दुई पटक चुनाव जितेर आफ्नो बलियो राजनीतिक धरातल बनाएका डा. वाग्लेको आगामी राजनीतिक यात्राबारे काठमाडौँको राजनीतिक वृत्तमा गम्भीर प्रश्न र अड्कलबाजीहरू सुरु भएका छन् ।
डा. वाग्ले कांग्रेसमा रहँदा तत्कालीन युवा नेता गगन थापासँग निकै नजिक रहेर नीतिगत र राजनीतिक कामहरू गर्दै आएका थिए । तर, तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू देउवा राणाको ‘कोपभाजन’मा परेपछि उनले कांग्रेससँगको लामो सम्बन्ध तोडेर रास्वपाको बाटो रोजेका थिए ।
त्यस समयमा डा. वाग्लेले कांग्रेसभित्र गुटबन्दी, आन्तरिक लोकतन्त्रको अभाव र ‘भाउजू संस्कृति’ हाबी भएको भन्दै कडा प्रहार गरेका थिए । यद्यपि, उनले गगन थापाजस्ता रूपान्तरणकारी नेताहरूप्रति भने सधैँ सहानुभूति राख्दै यदि गगन थापाको नेतृत्वमा कांग्रेस सुध्रिन्छ र उनी सभापति बन्छन् भने आफू पुनः कांग्रेस फर्किन सक्ने अभिव्यक्ति दिएको कांग्रेसका नेताहरू सम्झिन्छन् ।
अहिले परिस्थिति पूर्ण रूपमा फेरिएको छ । देशमा भएको ‘जेनजी आन्दोलन’ र युवा पुस्ताको विद्रोहपछि सम्पन्न विशेष महाधिवेशन तथा त्यसपछिको नियमित १५ औँ महाधिवेशनमार्फत गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भइसकेका छन् ।
यतिबेला गगन थापा प्रमुख प्रतिपक्षी दलका नेता एवं सभापति बनेका छन् भने डा. स्वर्णिम वाग्ले सत्तापक्षीय शक्तिशाली सरकारको अर्थमन्त्रीका रूपमा कार्यरत छन् । गगन थापा कांग्रेसको सर्वोच्च नेतृत्वमा पुगेसँगै उनी निकट नेताहरूले डा. स्वर्णिम वाग्लेलाई पुनः पार्टीमा भित्र्याउन पहल थालेको बताएका छन् । गगन निकट स्रोतहरूका अनुसार डा. वाग्लेलाई कांग्रेसमा ल्याएर पार्टीको दोस्रो वरीयता (उपसभापति) दिने विषयमा सभापति थापा स्वयम् सकारात्मक रहेको उनीहरूले दाबी गरेका छन् ।
तर, यहाँ एउटा कानुनी र वैधानिक जटिलता खडा भएको छ । नेपाली कांग्रेसको वर्तमान विधान अनुसार सभापतिपछिको दोस्रो वरीयतामा ‘वरिष्ठ उपसभापति’ रहने व्यवस्था छ, जुन पदमा युवा नेता विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भइसकेका छन् ।
गगन पक्षीय नेताहरूले यदि स्वर्णिम कांग्रेस फर्किन तयार भएको खण्डमा विधान संशोधन गरेर भए पनि उनलाई उपयुक्त र सम्मानित पद दिन सकिने बताएका छन् । १५ औं महाधिवेशनबाट चुनिएको नयाँ केन्द्रीय कार्यसमितिमा सभापति गगन थापाको प्रष्ट बाहुल्यता रहेकाले उनले चाहेको खण्डमा पार्टी विधान संशोधन गर्न कुनै कठिन नहुने विश्लेषकहरूको भनाइ छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार स्वर्णिम वाग्लेलाई पुनः कांग्रेसमा भित्र्याउन खोज्नुको पछाडि केवल पुरानो सम्बन्ध मात्र नभई नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपालाई कमजोर बनाउने रणनीतिक चालसमेत लुकेको छ । रास्वपालाई वैचारिक र बौद्धिक रूपमा सबल बनाउन डा. वाग्लेको ठूलो योगदान रहेकाले उनलाई पुनः कांग्रेसमा फर्काउन सकिए रास्वपाको बौद्धिक जग हल्लिने र पार्टी कमजोर बन्ने आकलन कांग्रेस नेताहरूले गरेका छन् । रास्वपाभित्र उपसभापतिको हैसियतमा रहेका र सरकारमा अर्थमन्त्रालय जस्तो महत्त्वपूर्ण मन्त्रालय सम्हालिरहेका नेतालाई तानेर रास्वपालाई ठूलो राजनीतिक झटका दिने रणनीतिमा कांग्रेस रणनीतिकारहरू लागेको जानकारहरू बताउँछन् ।
अर्कोतर्फ, डा. वाग्लेका अगाडि यतिबेला ठूलो नैतिक र राजनीतिक चुनौती खडा भएको छ । उनी हाल दुई–तिहाइ बहुमतको शक्तिशाली सरकारका अर्थमन्त्री र रास्वपाभित्र निर्णायक भूमिकामा रहेकाले केवल पदकै लागि रास्वपा छाड्नु राजनीतिक रूपमा जोखिमपूर्ण हुन सक्ने कतिपयको तर्क छ ।
चुनावका बेला रास्वपाको घण्टी चुनाव चिन्ह लिएर जनतासँग भोट मागेका उनले बीचैमा पार्टी छाडेर पुरानै पार्टीमा फर्किँदा जनता र मतदाताप्रति ‘राजनीतिक बेइमानी’ गरेको आरोप लाग्ने खतरासमेत रहेको विश्लेषकहरूले औँल्याएका छन् ।
तर, गगन थापासँग मिलेर नयाँ र रूपान्तरित कांग्रेस बनाउने तथा दीर्घकालीन रूपमा मुलुकको नेतृत्व सम्हाल्ने रोडम्याप बनेको खण्डमा डा. वाग्लेले यो निर्णय लिन सक्ने सम्भावनालाई पनि नकार्न नसकिने नेताहरूले बताएका छन् । गगन थापा कांग्रेस सभापति बनेपछि सुरु भएको यो नयाँ राजनीतिक तरंगले आगामी दिनमा कस्तो रूप लिन्छ भन्ने कुरा डा. स्वर्णिम वाग्लेको आगामी कदममै निर्भर रहने देखिन्छ ।