काठमाडौँ । नेपाली कांग्रेसको उपसभापति र महामन्त्री पदको आधा मतगणना सकिएको छ ।
महाधिवेशनमा सात हजार ४३ मत खसेकोमा तीन हजार ३३५ मत गणना भएको हो ।आधा प्रतिनिधिको मतगणना गर्दा उपसभापति खुलामा चन्द्र भण्डारीको अग्रता छ । तीन हजार ४३५ मत गणना हुँदा उनले एक हजार ६८६ मत पाएका छन् । यस्तै, मधु आचार्यको एक हजार ९०, सुरेन्द्रराज पाण्डेको ९५५, गोविन्द भट्टराईको ९४१, धनराज गुरुङको ७१९, दीपक गिरीको ४९७ र चन्द्रमोहन यादवको २९९ मत रहेको छ ।
केन्द्रीय उपसभापति समावेशीतर्फ विनोद चौधरी अघि छन् । उनले ८९६ मत पाउँदा जीवन परियारको ८२९, फरमुल्लाह मन्सुरको ४६९, रंजीत कर्णको २७० र सीता गुरुङको २५१ मत रहेको छ । यस्तै, केन्द्रीय महामन्त्री खुलामा प्रदीप पौडेलले मतान्तर बढाएका छन् । पौडेलको दुई हजार ५५ मत पुगेको छ । उदयशमशेर राणाको एक हजार १५९, सुनिलकुमार शर्माको ९३४, अमरसिंह पुन मगरको ८१९, गुरुराज घिमिरेको ६७८, नैनसिंह महरको ४२८, शंकर तिवारीको ८२ र सन्तोष उपाध्यायको ४९ मत रहेको छ ।
निर्वाचन समितिका अनुसार केन्द्रीय महामन्त्री महिलातर्फ डिला संग्रौलाको अग्रता रहेको छ । डिला संग्रौलाले एक हजार ५१७ मत पाउँदा महालक्ष्मी उपाध्याय डिनाको मत एक हजार ३९८ र रीता खनालको ३६५ मत रहेको छ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरूको समेत मत गणना सुरु गर्ने तयारी गरिएको छ ।