काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा मतगणना जारी रहेको छ भने आइतबार अपराह्न ४ बजेसम्म तीन हजार ४३५ मत गणना भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, उपसभापतिमा खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र मधु आचार्यले अग्रता लिएका छन्। भण्डारीले एक हजार ६८६ मत पाएका छन् भने आचार्यले एक हजार ९० मत पाएका छन्। कांग्रेसमा खुलाबाट दुई वटा उपसभापति निर्वाचित हुने व्यवस्था रहेको छ। त्यस्तै, महामन्त्रीमा सुरेन्द्र पाण्डेले ९५५, गोविन्द भट्टराईले ९४१, धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ र प्रा.डा. चन्द्रमोहन यादवले २९९ मत पाएका छन्।
त्यस्तै, सभावेशीतर्फ उपसभापतिमा विनोद चौधरीको अग्रता कायमै छ। उनले ८९६ मत पाएका छन्। त्यस्तै, जीवन परियारले ८२९। फरमुल्लाह मंसुरले ४६९, रंजित कर्णले २७० र सीता गुरुङले २५१ मत पाएकी छन्।
यसैगरी, महामन्त्रीमा खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणाले अग्रता कायमै राखेका छन्। पौडेलले दुई हजार ५५ र राणाले एक हजार १५९ मत पाएका छन्। त्यस्तै, महामन्त्रीमा डा. सुनिलकुमार शर्माले ९३४, अमरसिंह पुन मगरले ८१९, गुरुराज घिमिरेले ६७८, नैनसिंह महरले ४२८, शंकर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत पाएका छन्। खुलाबाट दुई जना महामन्त्री निर्वाचित हुनेछन्।
महिलातर्फ महामन्त्रीमा डा. डिला संग्रौलाले अग्रता लिएकी छन्। उनले एक हजार ५१७ मत पाएकी छन्। त्यस्तै, महालक्ष्मी उपाध्याय (डिना)ले एक हजार ३९८ र रीता खनालले २६५ मत पाएकी छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहेको छ।