'कागले कान लग्यो भन्दैमा पछि नदौडिनुस्' : सामाजिक सञ्जालको भ्रममा नपर्न एमाले अध्यक्ष ओलीको आग्रह

'कागले कान लग्यो भन्दैमा पछि नदौडिनुस्' : सामाजिक सञ्जालको भ्रममा नपर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा फैलिने प्रायोजित हल्ला र भ्रमको पछाडि नलाग्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

आइतबार आयोजित ‘मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समाजमा तथ्य नबुझी प्रतिक्रिया दिने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरे। उनले विम्बको प्रयोग गर्दै भने, "कागले कान लग्यो भन्दैमा आफ्नो कान नछामी कागको पछि दौडिने काम गर्नुहुँदैन।"

नेपाली जनताको चेतनास्तर उच्च भए पनि सामाजिक सञ्जालको दुरुपयोगका कारण केही मानिसहरू अलमलिएको उनको भनाइ थियो।

हिंसात्मक गतिविधिबाट 'सस्तो लोकप्रियता' कमाउने प्रयास

विचार, त्याग र योगदानविना नै हिंसात्मक गतिविधिमार्फत लोकप्रिय बन्न खोज्ने प्रवृत्तिप्रति ओलीले तीव्र असन्तुष्टि जनाए। राज्यको सम्पत्ति, निजी व्यावसायिक प्रतिष्ठान र सञ्चारमाध्यमका उपकरण जलाएर मान्छे 'हिरो' बन्न खोज्ने अनौठो प्रवृत्ति देखिएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालको अल्गोरिदम र यसको गलत प्रयोगले यस्तो विकृति जन्माएको दाबी गरे। यसका लागि मुलुकमा थप सचेतना अभियानको आवश्यकता रहेको उनको ठम्याइ थियो।

बाढीपहिरो पीडितको उद्धारमा सरकारी लापरबाही नसहने चेतावनी

यसैबीच, अध्यक्ष ओलीले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणमा कुनै पनि लापरबाही नगर्न सरकारलाई चेतावनी दिएका छन्। विगतमा भोटेकोशी र त्रिशूली बाढीका बेला सरकारी हेलिकप्टरको दुरुपयोग भएको र समयमै राहत नपुगेको प्रसङ्ग कोट्याउँदै उनले ती गल्ती नदोहोर्‍याउन सरकारको ध्यानाकर्षण गराए।

विपद्पछिको पुनःस्थापना र पुनर्निर्माण सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै ओलीले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा जनवर्गीय संगठनहरूलाई तत्काल राहत र उद्धार कार्यमा जुट्न निर्देशनसमेत दिएका छन्।

छुटाउनुभयो कि ?