प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको गृहकार्य तीव्र: मंसिर ७ मा नयाँदिल्ली जाने तयारी

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको गृहकार्य तीव्र: मंसिर ७ मा नयाँदिल्ली जाने तयारी

काठमाडाैं। प्रधानमन्त्री बालेन शाह आगामी नोभेम्बर २३ अर्थात् मंसिर ७ गते भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह नोभेम्बर २३ मा नयाँदिल्ली पुग्ने गरी भ्रमणको तयारीलाई तीव्रताका साथ अघि बढाइएको छ।

भ्रमणको मितिबारे नेपाल र भारत दुवै पक्षले औपचारिक घोषणा गर्न भने बाँकी छ। यसअघि भारतीय सञ्चारमाध्यमहरूले नोभेम्बर २३ देखि २५ (मंसिर ७ देखि ९) सम्म प्रधानमन्त्री शाहको भारत भ्रमण हुन सक्ने समाचार प्रकाशित गरेका थिए। भारतीय सञ्चारमाध्यम 'आजतक' ले सोही मितिमा भ्रमण प्रस्ताव गरिएको उल्लेख गरेको थियो।

'आजतक' का अनुसार प्रस्तावित भ्रमणका क्रममा दुई देशबीच रेल तथा अन्य यातायात सम्पर्क विस्तार, ऊर्जा, व्यापार, पूर्वाधार विकास र बाढीपछिको पुनर्निर्माणका विषयले मुख्य प्राथमिकता पाउने सम्भावना छ। विशेष गरी बहुप्रतिक्षित रक्सौल–काठमाडौं ब्रोडगेज रेलमार्ग र जनकपुर–अयोध्या यात्रुवाहक रेल सेवा सञ्चालनका विषयमा थप प्रगति हुन सक्ने जनाइएको छ।

ऊर्जा क्षेत्रतर्फ ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत आयोजना पनि द्विपक्षीय छलफलका महत्त्वपूर्ण एजेन्डा बन्नेछन्। यी दुवै आयोजनाको विकासमा भारतको सरकारी कम्पनी एनएचपिसी (NHPC) संलग्न रहेको छ।

त्यस्तै, दोधारा–चाँदनी एकीकृत जाँच चौकी (ICP), महाकाली नदीमा मोटरेबल पुल र भैरहवा एकीकृत जाँच चौकी लगायत सीमा पूर्वाधारका विषय पनि भ्रमणको सम्भावित कार्यसूचीमा समावेश छन्। यसका साथै, भोटेकोशीमा आएको बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भारतीय सहयोगको विशेष प्याकेजबारे समेत छलफल हुन सक्ने समाचारमा उल्लेख छ। यद्यपि यी परियोजनाहरूमा तत्काल सम्झौता हुने वा सहयोगको घोषणा गरिने विषयमा भने औपचारिक पुष्टि भइसकेको छैन।

प्रधानमन्त्री शाहलाई भारत सरकारले गत जुलाईमै औपचारिक भ्रमणको निमन्त्रणा दिएको थियो। त्यसयता दुवै देशबीच उपयुक्त मिति र कार्यसूचीका विषयमा निरन्तर छलफल हुँदै आएको छ। गत असोज २३ गते परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणका लागि गृहकार्य भइरहेको तर मिति टुंगो लागिसकैनसकेको जानकारी दिएको थियो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दुवै देशलाई अनुकूल हुने समयमा भ्रमण तालिका तय हुने बताएका थिए।

यसअघि अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए। ती भेटमा आर्थिक सहकार्य, ऊर्जा व्यापार र द्विपक्षीय सम्पर्क सञ्जाल (कनेक्टिभिटी) विस्तारका विषयमा गहन छलफल भएको थियो।

प्रधानमन्त्री शाहले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन अमेरिकाको यात्रा गरेका थिए। त्यसैले भारत भ्रमण प्रधानमन्त्रीका रूपमा उनको पहिलो विदेश यात्रा नभए पनि पहिलो औपचारिक द्विपक्षीय भ्रमण हुनेछ। प्रधानमन्त्री शाहको भ्रमणको विस्तृत कार्यतालिका, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने द्विपक्षीय वार्ता र सम्भावित सम्झौताका विषयमा आधिकारिक विवरण आउन बाँकी नै छ।