काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि पार्टीको अनुशासन आयोगले छानबिन सुरु गरेको छ। उनीमाथि लागेका आरोपका विषयमा पार्टीभित्र छलफल भई अनुशासन आयोगमा पठाइएको रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।
मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बुर्लाकोटीले छानबिन टुंगोमा नपुगुञ्जेलसम्म सांसद सुनारलाई कुनै पनि पद तथा औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन दिइएको बताए।
बुर्लाकोटीका अनुसार सुनारसँग सम्बन्धित केही भिडियो तथा अडियो सामग्रीहरू सार्वजनिक भएकाले तिनको सत्यता जाँच गर्न अनुसन्धान आवश्यक देखिएको हो। सार्वजनिक भएका सामग्रीहरू वास्तविक हुन् वा नक्कली, अथवा बाहिर आएका कुराहरू अफवाह मात्र हुन् भन्ने विषय छानबिनपछि मात्र स्पष्ट हुने उनले बताए।
अनुसन्धान धेरै लामो समय नकिचिने विश्वास व्यक्त गर्दै उनले विषयको गम्भीरताका आधारमा समय लाग्न सक्ने बताए। "अनुसन्धानबाट दोषी देखिएमा कारबाही हुन्छ, तर गल्ती नभएको पुष्टि भएमा कुनै कारबाही हुँदैन," उनले स्पष्ट पारे।
साथै, यो विषय संसदीय गतिविधिको नभई पार्टीको आन्तरिक अनुशासनसँग सम्बन्धित भएकाले पार्टीकै संयन्त्रमार्फत छानबिन अघि बढाइएको उनको भनाइ छ। यसअघि कृष्णकुमार कार्कीको विषयमा बुझ्दा कारबाही गर्नुपर्ने अवस्था नदेखिएको भए पनि सुनारको हकमा केही प्रमाणहरूसहित सामग्री बाहिरिएकाले अनुसन्धान अघि बढाउनुपरेको बुर्लाकोटीले जानकारी दिए।