बुटवल। बुटवल उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा २०१४ का बुटवल जेसिस अध्यक्ष दिनेश श्रेष्ठ ७१२ मत प्राप्त गरी निर्वाचित भएका छन्। संघको ७३औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशनअन्तर्गत भएको निर्वाचनमा उनले आफ्ना प्रतिस्पर्धी निर्मित कसजुलाई पराजित गरेका हुन्। कसजुले ६९३ मत प्राप्त गरे।
सोही निर्वाचनबाट संघको अध्यक्ष पदमा ८३३ मत ल्याएर नरिश्वर शर्मा पौडेल विजयी भएका छन्। उनका प्रतिस्पर्धी टंकप्रसाद गैरेले ६०१ मत प्राप्त गरे। वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई ७२४ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी विमलराज भट्टराईले ६९८ मत पाए।
त्यस्तै, वाणिज्य उपाध्यक्षमा ७१९ मतसहित मुक्तिप्रसाद अधिकारी विजयी भए भने उनका प्रतिस्पर्धी बाबुराम विश्वकर्माले ७०० मत ल्याए। महासचिव पदमा वसन्तप्रसाद ढकाल ७१४ मत प्राप्त गरी निर्वाचित भए भने उनकी प्रतिस्पर्धी जमुना पौडेल १२ मतको झिनो अन्तर (७०२ मत) ले पराजित भइन्।
कोषाध्यक्षमा टिकाराम बन्जाडे ७३८ मत र सचिवमा दीपकप्रसाद चापागाईं ७५२ मतसहित निर्वाचित भएका छन्। उनीहरूका प्रतिस्पर्धी प्रतीक पोखरेल शर्माले ६७३ मत र काशिराम शर्मा पौडेलले ६४८ मत ल्याए। सहकोषाध्यक्षमा कमला पोखरेल शर्मा पराजुली (मञ्जु) ८६८ मतका साथ विजयी भइन् भने उनका प्रतिस्पर्धी जाकिर हुसेनले ५४२ मत पाए। एसोसिएट्स सदस्यमा बालकृष्ण पौडेल ७८१ मत ल्याएर निर्वाचित हुँदा भानुभक्त खत्रीले ६२४ मत प्राप्त गरे।
उद्योग सदस्यतर्फ सुनिता शर्मा बन्जाडे, गोपाल टण्डन र लेखनाथ भण्डारी निर्वाचित भए। सोही पदमा दीपक बास्तोला र ज्ञानबहादुर पुनको समान ६५६ मत आएपछि गोलाप्रथाबाट पुन निर्वाचित भए। वाणिज्य सदस्यमा गणेशप्रसाद भट्टराई, सुनिता गिरी, रामबहादुर भण्डारी र उमेश अमात्य निर्वाचित भएका छन्।
खुला सदस्यतर्फ विष्णु घिमिरे पन्थ (कमला), दीपक घिमिरे, सुनिता अर्याल, प्रदीप शाक्य, विष्णुप्रसाद उपाध्याय, गोपालप्रसाद बस्याल र विजयकुमार बर्णवाल विजयी भए भने महिला सदस्यमा रेनु श्रेष्ठ र मञ्जु पुरी गिरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।