कर्णालीमा बेपत्ता माइक्रोका यात्रुको खोजी जारी, भीरबाट एक शव निकालियो

कर्णालीमा बेपत्ता माइक्रोका यात्रुको खोजी जारी, भीरबाट एक शव निकालियो

दैलेख। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ साङ्गेतडा नजिकै बुधबार दुर्घटनामा परेको फोर्स मिनीबसमा सवार एक यात्रुको शव फेला परेको छ।

सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको उक्त मिनीबस बुधबार बिहान करिब साढे ११ बजेको समयमा सडकबाट अनियन्त्रित भई करिब चार-पाँच सय मिटर तल कर्णाली नदीमा खसेको थियो। दुर्घटना लगत्तै सुरु गरिएको खोजी तथा उद्धार कार्यका क्रममा नदीको अप्ठ्यारो भिरमा अड्किएको अवस्थामा एक युवकको शव फेला परेको हो।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार भिरमा अड्किएको अवस्थामा फेला परेको उक्त शवलाई सुरक्षाकर्मीको टोलीले बाहिर निकालेको भए पनि मृतकको पहिचान भने अझै खुल्न सकेको छैन।

यसअघि दुर्घटनाको केही समयभित्रै घटनास्थलबाट एक जना यात्रुलाई जीवितै तर अचेत अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइसकिएको छ। गाडीमा कुल कति जना यात्रुहरू सवार थिए भन्ने यकिन तथ्यांक अझै खुल्न नसकेकाले नदीमा बेपत्ता भएका हुन सक्ने अन्य सम्भावित यात्रुहरूको खोजी कार्यलाई बिहीबार पनि सवेरैदेखि तीव्र पारिएको छ।

भौगोलिक विकटता र नदीको तीव्र बहावका बिच खोजी कार्यलाई प्रभावकारी बनाउन ठुलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घटनास्थलमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को प्रत्यक्ष कमान्डमा आवश्यक उद्धार सामग्रीसहित ३५ जनाको नेपाल प्रहरीको टोली खटिएको छ। यसका साथै उद्धार कार्यमा थप मद्दत पुर्‍याउन सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस र स्थानीय प्रहरी चौकी पाल्तडाबाट समेत संयुक्त उद्धार टोलीहरू घटनास्थलमा अहोरात्र परिचालन गरिएका छन्।

दुर्घटनास्थल दैलेख सदरमुकामबाट करिब ५० किलोमिटर पश्चिम र पाल्तडा प्रहरी चौकीबाट करिब ३ किलोमिटर उत्तरतर्फ पर्दछ। तीव्र गति वा प्राविधिक गढबढी के कारणले गाडी सडकबाट खस्यो भन्नेबारे अनुसन्धान भइरहेको छ।

प्रहरीले यातायात व्यवसायी र सम्बन्धित काउन्टरहरूसँग समन्वय गरी गाडीमा सवार यात्रुहरूको वास्तविक संख्या र पहिचान खुलाउने प्रयास गरिरहेको जनाएको छ।

छुटाउनुभयो कि ?