बौलाहा खोलाको बाढीले भूकम्प पीडितका अस्थायी घरटहरा र पसल बगायो

बौलाहा खोलाको बाढीले भूकम्प पीडितका अस्थायी घरटहरा र पसल बगायो

सुर्खेत ।  अविरल वर्षापछि आइतबार (भदौ २८) राति आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–१ र २ बीचमा पर्ने बौलाह खोलामा भूकम्पपीडितका अस्थायी आवाससहित पसल, फ्रेस हाउस र अरू संरचनामा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड समेत पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बौलाह खोलामा आएको बाढीबाट मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए । नलगाड–१, बैरिताल क्षेत्रमा भूकम्पपछि बनाइएका अस्थायी टहरामा ठूलो क्षति पुगेको उनले बताए ।

प्रहरीका अनुसार, बाढीले स्थानीय मानबहादुर विकको तीनकोठे अस्थायी टहरा पूर्ण रूपमा बगाएकोे छ । बिबिता महराको अस्थायी टहरा र किराना पसल, कृष्ण महरको एककोठे अस्थायी टहरा, मेघराज कुमाईको बोइलर कुखुराको दाना राख्ने टहरा र नन्दे महरको कपडा पेल्ने मेसिनसहितको अस्थायी टहरामा पूर्ण क्षति पुगेको छ ।

स्थानीय बलबहादुर विकको किराना पसल रहेको अस्थायी टहरा समेत बाढीले पूर्ण रूपमा बगाएको प्रहरी निरीक्षक सापकोटाले बताए ।

जनक भण्डारीको अस्थायी टहरामा सञ्चालनमा रहेको फ्रेस हाउसमा बाढी पसेको छ । फ्रेस हाउसमा रहेका झन्डै १०० भन्दा बढी बोइलर कुखुरा पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

दले कामीको अस्थायी टहरामा रहेको किराना पसलमा हिलो र पानी पसेर आंशिक क्षति पुगेको छ ।

बाढीले स्थानीय छवि महरको भे१ह २६३३ नम्बरको अटो र हिरालाल घर्तीको ग१त ७२७८ नम्बरको ट्याक्टरमा समेत क्षति पुर्‍याएको छ । दुवै सवारीसाधन माटोले पुरिएका छन् ।

नलगाड–२ मा स्थानीय सत्यदेव चनाराको पानीघट्ट समेत बाढीले पूर्ण रूपमा बगाएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक सापकोटाका अनुसार, बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले खोज तथा उद्धारको काम गरिरहेको छ । बाढीबाट भएको क्षतिको पूर्ण विवरण भने संकलन भइसकेको छैन ।

०७९ साल कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट जिल्लामा ठूलो जनधनको क्षति भएको थियो । भूकम्पपछि घर भत्किएका कैयौँ परिवार अझै अस्थायी टहरामा बस्न बाध्य छन् ।

भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसकिरहेका बेला त्यही अस्थायी संरचनामाथि बाढीको विपत्ति थपिएको छ । बौलाह खोलाको बाढीले भूकम्पपीडितका टहरा नै बगाएपछि प्रभावित परिवार फेरि विस्थापित हुने अवस्थामा पुगेका छन् ।