चक्रवात ‘अर्नब’को प्रभाव: तीन प्रदेशमा भारी वर्षाको सम्भावना, भोलिदेखि मौसम खुल्ने
काठमाडौँ, १४ कात्तिक । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण हाल देशभरको मौसम प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार अहिले देशभर अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यम वर्षा भइरहेको छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो पनि सबै प्रदेशमा आकाशमा बादल लाग्नेछ। विशेषगरी कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थान, गण्डकी प्रदेशका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हल्का वर्षा तथा कोशी, मधेस र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ।
आज राति पनि देशभर मौसम बदली रहनेछ। हिमाली भेག་का केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्नेछ।
सम्भावित वर्षाका कारण धानबाली भित्र्याउने लगायतका कृषि कार्यहरू आज र भोलि नगर्न महाशाखाले कृषकहरूलाई अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकहरूलाई मौसम अनुकूल नभएसम्म उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरिएको छ। साथै, त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन भनिएको छ।
खराब मौसमका कारण चिसो बढ्ने, जोखिमयुक्त स्थान तथा सडक किनारमा पहिरो खस्ने तथा सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरिएको छ। यद्यपि, भोलि अपराह्नदेखि चक्रवातको यो प्रभाव क्रमशः कमजोर हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।