विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा लागु औषध तस्कर समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ।
गोली लागेर दुई भारतीय घाइते भएका छन्। बिहीबार राति रतुवामाई नगरपालिका–६ शनिश्चरेमा भएको घटनामा प्रहरीले ५०० ग्राम खैरो हेरोइन (ब्राउन सुगर), हतियार र दुई वटा मोटरसाइकलसहित तीन जना भारतीयलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौंबाट इन्स्पेक्टर राकेश यादव र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा राति साढे ९ बजेतिर सो क्षेत्रमा भारतीय नम्बर प्लेटको बीआर ३७ भी ३९२६ सहित दुईवटा मोटरसाइकलमा आएका व्यक्तिहरूलाई रोकेको थियो।
प्रहरीलाई देखेपछि उनीहरू भाग्न खोजेका र नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण तथा गोली प्रहारको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन जवाफी कारबाही गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
प्रहरीको प्रतिकारस्वरूप चाइनिज पेस्तोलबाट पाँच र ब्रेडा पेस्तोलबाट तीन गरी कुल आठ राउन्ड गोली चलेको थियो। प्रहरीको गोली लागेर भारतको अररिया कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन्।
घुँडामुनि गोली लागेका उनीहरूको अवस्था मध्यम रहेको छ। उनीहरुलाई नगर अस्पताल झुर्कियामा सामान्य उपचार पछि थप उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ।
घटनास्थलबाट प्रहरीले दुई भारतीय नागरिकसँगै मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुरलाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूको साथबाट एक थान घरेलु पेस्तोल, एक राउन्ड गोली, करिब ५०० ग्राम खैरो हेरोइन र दुईवटा मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ।