पर्यटक भिसामा आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने १० विदेशी पक्राउ: अध्यागमन पठाइयो

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने १० विदेशी पक्राउ: अध्यागमन पठाइयो

काठमाडौं। मोरङको कानेपोखरीमा गैरकानुनी रूपमा स्वास्थ्य शिविर सञ्चालन र धार्मिक गतिविधिमा संलग्न भएको आरोपमा १० जना विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिई अध्यागमन विभाग पठाएको छ।

गृह मन्त्रालयका अनुसार मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा 'मर्सी डेभलपमेन्ट' नामक संस्थाले आयोजना गरेको स्वास्थ्य शिविरमा पर्यटक भिसामा आएका विदेशी नागरिकहरू संलग्न थिए। आवश्यक स्वीकृति नलिई शिविर सञ्चालन गरिएकाले विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णय बमोजिम उनीहरूको राहदानी जफत गरी आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा पठाइएको हो।

कात्तिक ८ गतेदेखि चार दिनका लागि सुरु गरिएको उक्त शिविरमा ३ जना ब्राजिल, २ जना क्यानडा र ५ जना अमेरिकी गरी कुल १० जना विदेशी नागरिकले सेवा दिइरहेका थिए। उनीहरू सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेका थिए।

स्थानीयस्तरमा पास्टर पावेल दङ्गाल र किराना व्यवसायी नवराज श्रेष्ठले उक्त शिविरको तयारी गरेका थिए। हस्पिटल बनाउने भन्दै निर्माण गरिएका भवनहरूमा क्रिश्चियन धार्मिक गतिविधि सञ्चालन भइरहेको विषयमा स्थानीयस्तरमा विवाद सुरु भएपछि सर्वसाधारणलाई साम्य पार्न उक्त शिविर आयोजना गरिएको अनुसन्धानबाट खुलेको छ।