वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ, ११ कात्तिकः बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले आगामी कात्तिक १३ र १४ गते देशका अधिकांश भूभागमा भारी वर्षा, चट्याङ, हावाहुरी तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

यसबाट उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन सबैमा विशेष आग्रह गरेको छ।

प्राधिकरणद्वारा जारी सूचनाअनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्नेछ।

साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षाको सम्भावना रहेको छ। चक्रवातको यस प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको अत्यधिक जोखिम निम्त्याउन सक्ने चेतावनी दिइएको छ।

सम्भावित विपद्बाट सुरक्षित रहन उच्च पहाडी तथा हिमाली क्षेत्रको यात्रा नगर्न र अत्यावश्यक कामबाहेक अन्य यात्रासमेत नगर्न अनुरोध गरिएको छ। त्यस्तै, नदी तथा खोला किनार र बाढीको जोखिम भएका क्षेत्रहरूमा नबस्न र मौसम पूर्वानुमान तथा आधिकारिक पूर्वसूचनाहरूको नियमित जानकारी लिई जोखिमको महसुस हुनासाथ तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।

कुनै पनि आपत्कालीन अवस्था वा सहयोगका लागि मौसमसम्बन्धी जानकारी लिन ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीको १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न सकिनेछ।