मुस्ताङ। मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै यही कात्तिक १२ देखि १४ गतेसम्म मुस्ताङको उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय र लोमन्थाङ गाउँपालिकाले अनुरोध गरेका छन्।
गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाउँदै जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत सतर्क गराएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको जोखिम रहेकाले पदयात्री तथा पर्यटकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको हो।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलका अनुसार चिसो बढ्ने, सडकमा पहिरो जाने तथा सडक एवं हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन भनिएको छ।
यसैगरी, लोमन्थाङ गाउँपालिकाले पनि मौसम प्रतिकूल हुने भएकाले कोरला नाका तथा आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने जनाएको छ। गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले हिमपातका कारण सडक चिप्लो भई सवारी दुर्घटना हुने र सडक नै अवरुद्ध हुन सक्ने जोखिम रहेकाले मौसम अनुकूल नभएसम्म कोरला नाकातर्फ सवारीसाधन नलैजान र यात्रा स्थगित गर्न यातायात व्यवसायी, चालक, व्यापारी तथा पर्यटकहरूलाई आग्रह गरेका छन्।