बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभावः नेपालमा भारी वर्षा र हिमपातको उच्च जोखिम

बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभावः नेपालमा भारी वर्षा र हिमपातको उच्च जोखिम

काठमाडाैं। बङ्गालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय क्षेत्र ‘अर्णव’ चक्रवातको रूपमा परिणत भएको छ। भारतको आन्ध्र प्रदेश र ओडिसातर्फ अघि बढिरहेको यो चक्रवातको प्रभाव बुधबार रातिदेखि नेपालमा पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बिहीबारदेखि नेपालका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा भीषण हिमपात हुने सम्भावना रहेको छ।

चक्रवातले ल्याउने जलवाष्प माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखासँग ठोक्किने भएकाले देशव्यापी रूपमा बदली र वर्षाको सम्भावना बढेको छ। विशेष गरी काठमाडौँ उपत्यकासहित कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा शनिबारसम्म विशेष सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। पश्चिम नेपालतर्फ सर्ने क्रममा भने यसको प्रभाव केही कम हुने देखिएको छ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अपिल

सम्भावित भारी वर्षा, हिमपात र हिमपहिरोको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक ११ गतेदेखि नै उच्च सजगता अपनाउन अपिल गरेको छ। कात्तिक १२ गते बिहीबार राhतिबाट बढी प्रभाव पर्ने भएकाले १३ र १४ गते कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका केही स्थानमा विशेष सतर्कता अपनाउन भनिएको छ।

कृषक तथा यात्रुहरूका लागि विशेष सुझाव

  • धानबाली भित्र्याउने: चक्रवातको प्रभाव सुरु हुनुअघि नै, अर्थात् कात्तिक १२ गतेभित्र काटिसकेको धानबाली सुरक्षित स्थानमा भित्र्याउन कृषकहरूलाई सुझाइएको छ।

  • यात्रा नगर्ने: मौसम प्रतिकूल हुने र बाटोमा बाढी, पहिरो तथा हिमपातको जोखिम रहने हुनाले अत्यावश्यक बाहेकका लामो यात्रा नगर्न आग्रह गरिएको छ।

  • पदयात्रा र पर्वतारोहण बन्द: हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको उच्च जोखिम रहेकाले पदयात्रा तथा हिमाल आरोहण तत्कालका लागि स्थगित गरी सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।

सरोकारवाला निकाय, स्थानीय तह र सुरक्षा निकायलाई प्रतिकार्यका लागि तयारी अवस्था रहन निर्देश गरिएको छ भने सर्वसाधारणलाई आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी पूर्वसूचनाहरू नियमित रूपमा पच्छ्याउन आग्रह गरिएको छ।