बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहका बिरामी र क्याफिनप्रति संवेदनशील व्यक्तिहरूलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न आग्रह गरेको छ।

विभागले इनर्जी ड्रिङ्क्सको सुरक्षित उपभोगबारे उपभोक्ता, उत्पादक तथा सरोकारवालाहरूलाई सचेत गराउँदै सामान्य व्यक्तिलाई पनि एक दिनमा दुई क्यानभन्दा बढी नखान सुझाव दिएको छ।

नेपालमा हाल १७ वटा उद्योगले अनुमति लिएर इनर्जी ड्रिङ्क्स उत्पादन गरिरहेका छन्, जसको प्रतिक्यानमा १०० मिलिग्राम क्याफिन प्रयोग भएको पाइएको छ। अन्तर्राष्ट्रिय संस्था इएफएसए र युएसएफडीएका अनुसार वयस्कका लागि दैनिक ४०० मिलिग्रामसम्म क्याफिन सुरक्षित मानिन्छ। नेपालमा उत्पादित इनर्जी ड्रिङ्क्समा रहेको क्याफिनको मात्रा उक्त दैनिक सीमाको २५ प्रतिशतभन्दा कम रहेको विभागले जनाएको छ।

विभागले इनर्जी ड्रिङ्क्सलाई पानी, जुस, दूध वा मोहीजस्ता पौष्टिक पेय पदार्थको विकल्पका रूपमा नलिन र अन्य पेय पदार्थमा मिसाएर नपिउन आग्रह गरेको छ।

यसैगरी, उत्पादक तथा विक्रेताहरूलाई कानुनअनुसार अनुमति लिएर मात्र विज्ञापन गर्न र लेबलमा चेतावनी सन्देश स्पष्ट लेख्न निर्देशन दिइएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत काम गर्ने व्यवसायीलाई कडा कारबाही गरिने चेतावनी पनि विभागले दिएको छ।