काठमाडौँ। बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र यानम तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गरेसँगै त्यसको असर नेपालमा पनि देखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
उक्त प्रणाली क्रमशः उत्तर-पश्चिमतर्फ सर्दै उत्तर प्रदेश र बिहार आसपास पुगेर कमजोर हुने पूर्वानुमान रहे पनि यसकै प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न भागमा वर्षा र हिमपात हुने सम्भावना छ।
मौसमविद् बिनु महर्जनका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई केही स्थानमा हल्का वर्षा भइसकेको छ। शनिबारसम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा मध्यम वर्षा हुनसक्ने अनुमान छ।
यस्तै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा भारीदेखि अति भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
वर्षा र हिमपातका कारण बाढी, पहिरो, सडक अवरोध र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले कृषि कार्य, पर्वतारोहण, पदयात्रा र पर्यटकीय गतिविधिमा विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। मुख्य गरी धानबाली भित्र्याउने तयारीमा रहेका किसानलाई मौसमको अवस्था हेरेर मात्र काम गर्न र उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकलाई सुरक्षित स्थानमा रहन सुझाव दिइएको छ।