काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले देशको मौसममा उल्लेखनीय फेरबदल आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ भने कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्रसहित मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो अधिकांश स्थानमा बादल लाग्ने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि वर्षा र हिमपातको आकलन गरिएको छ।
यसै क्रममा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना समेत रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागका एकदुई स्थानमा भारी वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशका अधिकांश भूभागमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको क्रम जारी रहनेछ। केही स्थानमा भारी वर्षा र हिमपातको समेत अनुमान गरिएको छ।
महाशाखाले आज र भोलि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने चेतावनी दिएको छ। विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा र हिमपातको जोखिम रहेको छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना औंल्याइएको छ।
मौसममा आएको यो अचानक फेरबदलका कारण पाकेको धानबाली भित्र्याउनेलगायतका कृषि कार्यहरू आज र भोलि पूर्ण रूपमा स्थगन गर्न महाशाखाले विशेष अनुरोध गरेको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकहरूलाई मौसममा सुधार नआउँदासम्म उच्च हिमाली क्षेत्रतर्फ नजान र त्यहाँ पुगिसकेकाहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
वर्षासँगै चिसो हवाहरी चल्दा तापक्रम घट्न सक्ने, जोखिमयुक्त बस्ती र सडक किनारमा पहिरो खस्ने तथा यसले सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित पार्न सक्ने भएकाले सम्पूर्ण सर्वसाधारण र सम्बन्धित निकायलाई उच्च सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले आग्रह गरेको छ।