काठमाडौं। देशभर भइरहेको लगातारको वर्षाका कारण बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै हेटौँडाबाट ठिङ्गन हुँदै ललितपुर जोड्ने कान्तिलोकपथमा असोज १३ र १४ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। साथै, कान्तिलोकपथकै बागमती गाउँपालिका–३ स्थित पाँदुर र तार्केमा पहिरो खसेका कारण सडक खण्ड ठप्प रहेको छ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं ८ गिम्दीबेँसीस्थित बिपी राजमार्गमा ठूलो पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
गण्डकी प्रदेशतर्फ, गोरखाको सोतीदेखि मान्बु जाने बाटो अन्तर्गत आरुघाट गाउँपालिका–२, ३ र ९ स्थित नयाँपुलमा बूढीगण्डकीको बाढीले क्षति पुऱ्याउँदा सडक सम्पर्क विच्छेद भएको छ। यस्तै, मुस्ताङको जोमसोम–कोरला सडक खण्डअन्तर्गत घरपझोङ गाउँपालिका–४ स्थित पर्यटक चेकपोस्ट नजिक पहिरो जाँदा सडक बन्द भएको छ।
यसैगरी, कर्णाली प्रदेशको कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–७ औँलिसेमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले राजमार्गको अवस्था बुझेर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।