कर्णाली। पश्चिमी जलवाष्पयुक्त प्रणालीको प्रभावका कारण कर्णाली प्रदेशको उच्च हिमाली जिल्ला हुम्लामा भारी वर्षा भएको छ। यो सन् १९७८ पछिकै सबैभन्दा ठूलो वर्षा हो।
असोज ९ गते शुक्रबार दिउँसो १:०० बजेदेखि १० गते शनिबार दिउँसो १:०० बजेसम्मको २४ घण्टामा हुम्लाको सदरमुकाम सिमकोटमा ११४.८ मिलिमिटर वर्षा मापन गरिएको मौसम तथा जलवायु विज्ञान कार्यालय सुर्खेतकी प्रमुख डा. इन्दिरा कँडेलले जानकारी दिइन्।
डा. कँडेलका अनुसार यसअघि सन् २०२१ मा सिमकोटमा ११० मिलिमिटर र सन् २०१५ मा ९८ मिलिमिटर वर्षा भएको थियो। “हुम्लाको भौगोलिक स्थिति अनुसार ११४.८ मिलिमिटर पानी पर्नु विषम र अभूतपूर्व अवस्था हो।यसले विगतका सम्पूर्ण रेकर्ड तोडेको छ,” उनले भनिन्।
समुद्री सतहदेखि २,९९३ मिटर उचाइमा रहेको सिमकोटमा हालसम्म १४,११३ दिन वर्षा मापन गरिएकामा १ मिलिमिटरभन्दा बढी पानी परेका दिनहरूको संख्या ३,७९४ रहेको छ।
जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार उक्त ३,७९४ दिनमध्ये १०० मिलिमिटरभन्दा बढी वर्षा भएको यो पहिलो दिन हो। यसअघि ७५ मिलिमिटरभन्दा बढी वर्षा ६ दिन र ५० मिलिमिटरभन्दा बढी वर्षा १२ दिन मात्रै अभिलेख गरिएको थियो।
यसैगरी, सोही २४ घण्टाको अवधिमा सुर्खेतको वीरेन्द्रनगरमा ७५.५ मिलिमिटर वर्षा मापन भएको छ। कर्णाली प्रदेशभर भएको यो भारी वर्षाका कारण हुम्ला, जाजरकोट, कालिकोट, मुगु, जुम्ला र सल्यानका विभिन्न स्थानमा पहिरो गएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जनाएका छन्।