काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि अत्यावश्यक वस्तु आयात प्रभावित भएको छ । पहिरो खस्नुभन्दा अगाडिदेखि नै ग्यास पाउन उपभोक्ता घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता रहेकोमा पहिरोले आपूर्ति खल्बलिएपछि समस्या झन् बल्झिएको छ ।
कालीमाटीस्थित साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमा बिहानदेखि ग्यास लिन उपभोक्ताको लाम लाागेको छ । अन्य विक्री डिपोहरूमा पनि उपभोक्ताहरूको भिड बाक्लिएको छ । यसैबीच ठप्प भएको ग्यास आपूर्ति र वितरणलाई सहजीकरण गर्न आयल निगम र ग्यास विक्रेताहरूले ६ बुँदे निर्णय गरेका छन् ।
नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक दीपक बरालसहित ग्यास विक्रेता महासंघ नेपाल र ग्यास विक्रेता संघ काठमाडौंका पदाधिकारीको बैठकमा ती सहमति गरिएका हुन् ।
काठमाडौं उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगहरूलाई तराईका उद्योगहरूबाटै सिलिण्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने छन् । व्यवसायिक प्रयोजन (ठूला होटल तथा रेस्टुरेन्ट, खाद्य उद्योग, औद्योगिक कारखाना, व्यापारिक मल) बिक्री वितरण रोकी अति आवश्यक उपभोक्तालाई उपलब्ध गराउने पनि निर्णय गरिएको छ ।
विद्यार्थी, अशक्त, बिरामी, ज्येष्ठ नागरिक, विभिन्न आश्रम तथा बाढी प्रभावितका लागि सञ्चालन गरिएका सेल्टरलाई प्राथमिकतामा राख्नुपर्ने छ । सहजीकरण र अनुगमनका लागि ग्यास विक्रेताबाट निगमको क्विक रेस्पोन्स टीममा २ जना प्रतिनिधि राख्ने पनि निर्णय गरिएको छ ।
