काठमाडौं। जेनजी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारबाट जनजीविकामा कुनै सुधार आउन नसकेको भन्दै मुलुकमा नयाँ ‘वैकल्पिक राजनीतिक शक्ति’ र तेस्रो ध्रुवको खाँचो रहेको बताएका छन्।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित ‘जेनजी आन्दोलनको १ वर्ष र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै ढुंगानाले वर्तमान सरकारलाई ‘जेनजीको सरकार’ मान्न नसकिने स्पष्ट पारे।
उनले यसलाई संक्रमणकालमा सत्ता हत्याउन बनेको ‘स्वार्थ समूहको सरकार’ को संज्ञा दिँदै सत्तारूढ शक्तिहरूसँग स्पष्ट विचार र दिशा नरहेको आरोप लगाए।
सरकार गठन भएको साढे पाँच महिना बितिसक्दा पनि महँगी नियन्त्रण र रोजगारी सिर्जनामा कुनै आशाप्रद संकेत नदेखिएको उनको भनाइ थियो। ढुंगानाले भदौ २३ र २४ गतेका घटनाहरूको निष्पक्ष छानबिन हुनुपर्ने माग राख्दै सुरक्षा संयन्त्रबाट भएका गल्ती र सिंहदरबार, संसद् भवन तथा सर्वोच्च अदालतमा भएका आगजनी र तोडफोडको ‘एक-एक फाइल पल्टाएर’ अनुसन्धान हुनुपर्ने चेतावनी दिए। वर्तमान सरकारले छानबिन नगरे भविष्यमा आउने वैकल्पिक शक्तिले दोषीलाई कारबाही गर्ने उनले बताए।
자फ्नो अडान र विचारमा दृढ रहेको उल्लेख गर्दै उनले आफूलाई ‘अवसरवादी’ वा ‘आन्दोलनबाट भागेको’ भनी लगाइएका आरोपहरूको खण्डन गरे। चाहना भएको भए सांसद वा मन्त्री बन्न सकिने भए पनि आफूले कहिल्यै सत्ताको मतियार बन्न नचाहेको र १६ वर्षको उमेरदेखि स्वरोजगार रहेकाले पदको कुनै लोभ नरहेको उनले स्पष्ट पारे। साथै, उनले गरिमा चौधरी, गणेश नेपाली र जेनजी समूहहरूसँग सरकारले गरेका सम्झौताहरूको कार्यान्वयन अवस्था सार्वजनिक गर्न माग समेत गरे।