दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कारबाही हुन्छ– गृहमन्त्री गुरूङ

दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कारबाही हुन्छ– गृहमन्त्री गुरूङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजनीतिक दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कारबाही गर्ने चेतावनी दिएका छन्।‍उनले राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको पक्षमा लाग्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्ने भएको बताएका हुन्।

सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री गुरुङले सरकारमा आएदेखि नै कर्मचारीले राजनीतिक दलको झोला बोक्ने नभई जनताको सेवामा समर्पित हुनुपर्ने कुरा स्पष्ट पार्दै आएको बताएका छन्। 'यति कुरा पटकपटक स्पष्ट पारिसक्दा पनि कसैले अझै दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको छ भने त्यो भ्रम आजै त्यागे हुन्छ,' उनले लेखेका छन्।

आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने कर्मचारीमाथि कानुनबमोजिम कडा कारबाही हुने उनले चेतावनी दिएका छन्। 'आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुन्छ, यसमा कुनै सम्झौता हुँदैन,' उनले लेखेका छन्।

नेता र कर्मचारी सबैको साझा उद्देश्य देशप्रति समर्पित भएर जनताको सेवा गर्नु हुनुपर्ने उनको भनाइ छ। सरकारले नेताको चाकडी गर्ने नभई जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य पूरा गर्ने र देशप्रति इमानदार कर्मचारी चाहेको उनले बताएका छन्।