काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा चुनावी प्रचारप्रसारका लागि सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
भक्तपुरको मध्यपुर थिमिमा शनिबार आयोजित पार्टीको ‘राष्ट्रिय जागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले बदलिँदो समय र प्रविधिको विकासअनुसार चुनावी प्रचारशैली पनि परिवर्तन गर्नुपर्ने बताएका हुन् ।
अहिले सूचना प्रविधिको युग भएकाले त्यसको प्रभावकारी प्रयोग गर्न नसके निर्वाचनमा पछि पर्न सकिने उनको भनाइ थियो । विगतमा जस्तो भाषण र आमसभामा मात्रै सीमित भएर चुनावी अभियान सञ्चालन गर्न नसकिने उनले बताए ।
‘अहिले आइटीको जमाना छ, यसलाई प्रयोग गर्नुपर्छ । प्रयोग गर्न जानेन भने चुनाव जित्न सकिँदैन । पहिलाजस्तो भाषण र सभामा मात्रै सीमित हुनुहुँदैन,’ प्रचण्डले भने । उनले संविधान र कानुनअनुसार आगामी जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरूसँगको छलफल र परामर्शका आधारमा सरकारले उपयुक्त समयमा निर्वाचनको मिति घोषणा गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेता तथा कार्यकर्तालाई स्थानीय तहको आगामी निर्वाचनको तयारीमा जुट्न आह्वान गरे । उनले पार्टीका कार्यक्रमलाई विगतको जस्तो लामो र भद्दा बनाउनुभन्दा चुस्त तथा विषयवस्तु केन्द्रित बनाउनुपर्नेमा जोड दिए । पार्टी संगठन सुदृढीकरण र वैचारिक स्पष्टताका लागि देशभर प्रशिक्षण तथा तालिम सञ्चालन गर्न लागिएको पनि उनले जानकारी दिए ।