राष्ट्रपतिले डराएर असंवैधानिक तवरले संसद् विघटन गर्नुभयो : केपी ओली

राष्ट्रपतिले डराएर असंवैधानिक तवरले संसद् विघटन गर्नुभयो : केपी ओली

काठमाडौं।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गठन प्रक्रिया र प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक तथा अलोकतान्त्रिक रहेको आरोप लगाएका छन्।

पार्टीको जनवर्गीय संगठन ‘नेसनल भोलेन्टियर्स फोर्स’ को स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार आतंक, आगजनी र तोडफोडको जगमा बनेको टिप्पणी गरेका हुन्। उनका अनुसार वर्तमान राजनीतिक घटनाक्रमले देशको संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधिलाई कमजोर बनाएको छ।

कार्यक्रममा बोल्दै ओलीले राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरे। पूर्वप्रधानन्यायाधीश भइसकेको व्यक्तिले नै संविधान मिचेर प्रधानमन्त्रीको पद सम्हालेको र उनैको एकल सिफारिसमा राष्ट्रपतिले डराएर प्रतिनिधिसभा विघटन गरेको उनको आरोप छ।

ओलीले भने, “आफैं प्रधानन्यायाधीश भइसकेको व्यक्तिले संविधान मिचेर प्रधानमन्त्री बनी व्यक्तिगत तवरमा संसद् विघटनको सिफारिस गर्नुभयो। सम्माननीय राष्ट्रपतिले पनि डराएर असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गर्नुभयो र पछि लोकतन्त्र जोगाएँ भन्नुभयो। असंवैधानिक ढंगले संसद् विघटन गरेर लोकतन्त्र जोगिँदैन।”

यसैगरी, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भए पनि अदालतले समयमै फैसला नसुनाएको प्रति उनले असन्तुष्टि जनाए। अदालतको सम्मान गर्दै उनले विघटन ठीक वा बेठीक जे लागे पनि ब्रह्मले देखेको फैसला छिटो गर्नुपर्नेमा अदालत चुप लागेर बसेको टिप्पणी गरे।

अध्यक्ष ओलीले राज्यका संवैधानिक र लोकतान्त्रिक निकायहरू विधिको शासनभन्दा पनि आदेशका भरमा चल्न थालेको जिकिर गरे। संविधान र लोकतन्त्रको रक्षाका लागि राज्यका निकायहरू कानूनअनुसार चल्नुपर्नेमा जोड दिँदै उनले देशलाई संवैधानिक र लोकतान्त्रिक मार्गमा फर्काउन दबाव सिर्जना गर्न युवाहरू संगठित हुनुपर्ने आवश्यकता औंल्याए।

धेरै पढिएको