काठमाडौं। सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) ले साधारण समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्न ठूलो सङ्ख्यामा भर्ना आह्वान गरेको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालय, मानवश्रोत विभाग, हलचोकले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै जवान र विभिन्न ट्रेडका परिचर गरी कुल ६६६ पदका लागि दरखास्त माग गरेको हो।
सूचना अनुसार कुल पदमध्ये सशस्त्र प्रहरी जवान पदका लागि मात्रै ६०४ जनाको माग गरिएको छ। जसमा खुलातर्फ ३२६, आदिवासी/जनजातितर्फ ८५, मधेसीतर्फ ७४, महिलातर्फ ५३, दलिततर्फ ४०, पिछडिएको क्षेत्रतर्फ १४ तथा अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि १२ सिट सुरक्षित गरिएको छ।
यसैगरी साधारण उपसमूहतर्फ विभिन्न ६ वटा ट्रेडका कुल ६२ जना सशस्त्र प्रहरी परिचर पदका लागि पनि आवेदन खुलाइएको छ। जसअन्तर्गत भान्छेतर्फ ३८ जना, कूचिकारतर्फ ८ जना, केशकर्तकतर्फ ७ जना, सूचिकारतर्फ ६ जना, चर्मकर्मीतर्फ २ जना र माली पदका लागि १ जनाको माग रहेको छ।
इच्छुक तथा योग्यता पुगेका आवेदकहरूले भदौ ३० गतेदेखि आगामी असोज २८ गते कार्यालय समयभित्र दरखास्त फाराम बुझाइसक्नुपर्नेछ। अनलाइनमार्फत फाराम भर्ने आवेदकहरूले भने आफूले रोजेको सम्बन्धित कार्यालयमा असोज ३० गतेभित्र स्वयं उपस्थित भई सक्कल दरखास्त फाराम बुझाउनुपर्नेछ। आवेदकहरूको प्रारम्भिक शारीरिक परीक्षण सम्बन्धी तालिका आगामी कात्तिक १३ गते सशस्त्र प्रहरी बलको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ।