काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन सरकारसँग आग्रह गरेको छ। बिहीबार बसेको पार्टी सचिवालय बैठकले विपद्को समीक्षा गर्दै खोजी तथा राहतसँगै अब पुनर्जागरण र पुनस्र्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जगदिश खरेलले सीमित स्रोत-साधनका बाबजुद सरकारले उद्धार र राहतमा खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुभयो। बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद् व्यवस्थापन कोषमा हालसम्म करिब ८ अर्ब रुपैयाँ सङ्कलन भएको र जसमध्ये १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पठाइसकिएको जानकारी गराउनुभएको थियो।
यसैगरी, पार्टी सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा विपद्को सामना गर्न सबै राजनीतिक दलहरूबीच बनेको अभूतपूर्व ऐक्यबद्धताबारे जानकारी दिनुभएको थियो। रास्वपाले यस विपद्को कठिन घडीमा सङ्घीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारलाई निरन्तर सहयोग र साथ रहने प्रतिबद्धता जनाउँदै विपद् व्यवस्थापनका लागि दीर्घकालीन रूपमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्नेमा जोड दिएको छ।