सुर्खेतमा तीन करोड मूल्य बराबरको सुनचाँदी र नगदसहित व्यापारी अग्रवाल पक्राउ

सुर्खेतमा तीन करोड मूल्य बराबरको सुनचाँदी र नगदसहित व्यापारी अग्रवाल पक्राउ

कर्णाली। सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट झन्डै तीन करोड रुपैयाँ बराबरको अवैध सुनचाँदीका गरगहना र ठूलो परिमाणमा नगदसहित एक जना व्यापारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका–६ राजाचोक नजिकै सञ्चालित ‘शिव ईम्पोरियम’ पसलमा छापा मारी सञ्चालक श्यामसुन्दर अग्रवाललाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार पक्राउ परेका अग्रवालको साथबाट बरामद गरिएका सुन तथा चाँदीका गरगहना राखिएका बट्टा, पोका र डिब्बाहरू गरी कुल १८५ थान बरामद गरिएको छ, जसको अनुमानित बजार मूल्य झन्डै तीन करोड रुपैयाँ बराबर रहेको छ। गहनाका अतिरिक्त प्रहरीले उनको पसलबाट दुई लाख १९ हजार ५०० नेपाली रुपैयाँ र आठ लाख ११ हजार ९०० भारतीय रुपैयाँ समेत बरामद गरेको छ।

विशेष सूचनाका आधारमा खानतलासी गर्दा प्रहरीले अवैध मानिएका ती गरगहना र स्रोत नखुलेको नगद फेला पारेको हो। बरामद गरिएका विभिन्न दरका नोटहरू गन्नका लागि अग्रवालले पसलमा प्रयोग गर्ने गरेको एक थान नोट गन्ने मेसिन (क्यास काउन्टर) समेत प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।

ठूलो परिमाणमा अवैध सुनचाँदी र विदेशी मुद्रासहित पक्राउ परेका व्यापारी अग्रवालमाथि अहिले हिरासतमा राखेर थप कानुनी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

छुटाउनुभयो कि ?